सरकारमा जाने विषयमा कांग्रेसले भन्योः इञ्जुरी समयमा गोल गर्छौं

काठमाडौं फाल्गुन २० । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले नयाँ सरकार गठनको विषयलाई अध्ययन गरिरहेकाे बताएका छन । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस विवेकसम्मत रुपमा ठिक ढंगले निर्णयमा पुग्ने र इञ्जुरी समयमा गोल गर्ने बताए ।
विहीबार साँझ देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारी बैठकपछि प्रवक्ता शर्माले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् । ‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याइरहेको छ । तर कांग्रेसले ढोका खोलेको छैन । कांग्रेसले झ्यालबाट च्याइरहेको छ । कांग्रेसले निर्णय लिएको छैन, उनले भने । प्रवक्ता शर्माले सरकार र नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीका बीचमा भएको समझदारीलाई सकारात्मक रुपमा लिएको टिप्पणी गरे । ‘कांग्रेसले वार्ता समिति गठन हुनुलाई नै सकारात्मक भनेको थियो ।
तर सरकारले मुलुकको प्रमुख प्रतिपक्षी दललाई समेत विश्वासमा लिने, छलफल गर्ने काम गरेन, यो बारेमा हामीले जे धारणा राखिरहेका छौँ, त्यो मिडियामा आएका कुराका आधारमा राखेका हौँ, प्रवक्ता शर्माले भने, ‘बहुलवादमा आधारित संघीय संसदीय लोकतान्त्रिक गणतन्त्रको परिधिभित्रबाट मात्रै समाधानमा पुग्नुपर्ने हुन्छ ।’ शर्माले सरकारले विगतमा कांग्रेसले १० वर्षे हिंसात्मक द्धन्द्धलाई सबैको सहकार्यमा विश्वासमा लिएर समाधान गरेको कुराबाट सिक्न नसकेको टिप्पणी गरे । बैठकमा संसदको पुनस्थापना पछि राष्ट्रिय राजनीति, कांग्रेसको भुमिका लगायत विषयहरुमा छलफल भइरहेको प्रवक्ता शर्माले जानकारी दिए ।