गौतम बुद्ध रंगशालाको ‘मेरो कुर्सि’ अभियानको घोषणा

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकलन गर्ने लक्ष्य सहित धुर्मुस सुन्तली फाउण्डेसनले एक लाख रुपैयाँमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कुर्सी बेच्ने भएको छ ।
सोमबार फाउन्डेसनले एक कार्यक्रमको आयोजना गरी रंगशालामा निर्माणमा देखिएको आर्थिक संकट तथा अभाव पूरा गर्नका लागि कुर्सी बेच्ने योजना सार्वजनिक गरेको हो । रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने र जसका लागि रंगशाला निर्माणमा १ लाख रुपैयाँ सहयोग गर्नुपर्ने बताएको छ । ३० हजार दर्शक क्षमता रहने भनिएको रंगशालामा आफ्नो वा आफ्नो नजिकको कसैको नामको कुर्सी राख्न पाइने र उत्त रंगशालामा हुने उद्घाटन खेल सोही कुर्सीमा बसेर निशुल्क हेर्न सकिने समेत फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
रंगशाला निर्माण कार्य भइरहेको अवस्थामा आर्थिक समस्या भएको जनाएको छ । फाउण्डेशनले आजै निमार्णको खर्च विवरण र आमदामी खर्च पनि सार्वजनिक गरेको छ । जस अनुसार रंगशाला निर्माणमा ११ करोडमाथिको घाटामा काम भइरहेको छ । फाउन्डेशनले तयार पारेको डीपीआर अनुसार रंगशाला निर्माणको कुल लागत ३ अर्ब ५५ करोड रहेको छ । तर, २०७७ सम्ममा जम्मा ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैंया ८० पैसा मात्र आर्थिक संकलन भएको छ ।
फाउन्डेशनका अनुसार अनुसार परियोजना निर्माणको लागि १.१० प्रतिशत पैसा मात्र संकलन भएको छ । जसमा ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैंया २३ पैसा खर्च भएको छ । रंगशाला निर्माणमा हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैंया ४३ पैसा ऋण रहेको फाउन्डेशले जानकारी दिएको छ । यस्तै कार्यक्रममा उपस्थित भएका हास्य व्यङ्गयका वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले रंगशाला सबैको सम्पति भएको भन्दै निमार्ण सम्पन्न गर्न सहयोग गर्न सबै समक्ष अपिल पनि गरेका छन् ।
आर्थिक अभाव र ऋणका कारण रंगशाला निर्माणकार्य अपेक्षाकृत रुपमा अघि नबढेको फाउन्डेशले जनाएको छ । भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा निर्माण भइरहेको रंगशाला निर्माणमा हालसम्म मैदानको ५ प्रतिशत काम र प्याराफिट तर्फ ३० प्रतिशत काम सम्पन्न भएको फाउन्डेशनले जानकारी दियो । जनस्तरबाट उठ्ने अपेक्षा गरिएको रकम र सहयोग विश्व भर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) कारण उठ्न सकेको छैन् । फाउन्डेनसनले आगामी १८ महिना भित्र रंगशाला निमार्णको कामलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ ।