अर्थतन्त्र चलयमान सँगै तरलतामा दवाब, पुनरकर्जामा ८३ अर्ब जाँदा ७८ अर्बमा सीमित
अर्थतन्त्र चलायमान भएसँगै बैंकिङ प्रणालीमा तरलता निरन्तर दवाब पर्न थालेको छ । गत पुस मध्यसम्म २ खर्ब अधिक तरलता रहेको प्रणालीबाट पुनरकर्जामा ८३ अर्ब रुपैयाँ जाँदा तरलता ७८ अर्बमा सीमित बन्न पुगेको छ । कोभिड महामारी अघि प्रणालीमा ३ खर्बको तरलता थियो ।
त्यस्तै आयातले गर्दा पैसा बाहिरिन थालेपछि पनि तरलतामा प्रेसर परिरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । पछिल्लो समय उपभोग्य सामानदखि निर्माण सामाग्री र औद्योगिक कच्चा पदार्थको आयात बढेको उनले बताएका छन । आयात बढ्दै जानु र बैंकहरुबाट तीव्र गतिमा कर्जा लगानी बढ्नुले तरलतामा निरन्तर दवाब सिर्जना भइरहेको भट्टको भनाई छ ।
तरलतामा दवाब पर्न थालेपछि ब्याजदर बढ्ने सम्भावना पनि प्रबल बन्न थालेको छ । अहिले औसत ९ प्रतिशत रहेको कर्जाको ब्याजदर चैत–वैशाखसम्म औसत १२ प्रतिशतको हाराहारीमा पुग्नसक्ने जानकारहरु बताउँछन्।
प्रवक्ता भट्टले भने अहिले तत्काल ब्याजदर बढ्ने सम्भावना नरहेको बताए तर तरलतामा दवाब सिर्जना भएकोले भविष्यमा ब्याजदर नबढ्ला भन्न पनि नसकिने बताए ।
गत फागुन १० गतेसम्म वाणिज्य बैंकहरुबाट कुल ३३ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । कुल निक्षेप भने ३७ खर्ब ८९ अर्ब रहेको छ । नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांकअनुसार फागुन ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३३ खर्ब ३५ अर्ब रुपैयाँ थियो । यो हिसाबले ३ दिनमै बैंकको कर्जा लगानी १० अर्ब रुपैयाँले बढिसकेको छ ।
त्यस्तै वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन ७ गतेसम्म ३७ अर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो । पछिल्लो ३ दिनमा निक्षेप संकलन भने १० अर्बले घटेको छ ।