बाँसबारी र श्री कुमारी क्लबलाई सफलता

काठमाडौं, फागुन १२ । टुसाल युथ क्लबलाई ३–१ ले हराउँदै बाँसबारी युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग तालिकाको तेस्रो स्थानमा उक्लिँदा दिनको दोस्रो खेलमा श्री कुमारी क्लबले भगवती क्लबलाई ४–१ हराएको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीलाई जित दिलाउन भीष्मराज घिमिरेले दुई गोल गर्दा अनिल गुरुङले एक गोल गर्न सफल भए । टुसालका सुनिल धामीले एक गोल गरे बाँसबारीको अन्तर घटाएका थिए । दुई गोल गरेका भीष्मराजले पाँचौ मिनेटमा गोल गर्दै बाँसबारीको खाता खोलेका थिए भने ३४ औं मिनेटमा भीष्मराजले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
पहिलो हाफ २–० को अग्रता बनाएको बाँसबारीका लागि अनिलले ५४ औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरेका थिए । पछि परे पनि अन्तर घटाउन प्रयासरत टुसालका सुनिल धामीले एक गोल फर्काएर अन्तर घटाएका थिए । ८८ औं मिनेटमा एलोन राईले टुसालको पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेनन् । बाँकी समयमा थप गोल हुन सकेन र बाँसबारीले सहज जित निकाल्न सफल भयो ।



‘बी’ डिभिजन लिग अन्तर्गत दिनको दोस्रो खेलमा आशिषको ह्याट्रिकमा श्री कुमारी क्लबले श्री भगवती क्लबमाथि सहज जित निकालेको हो । १० खेलाडीमा सिमित श्री कुमारीको जितमा आशिष राईले ह्याट्रिकसहित ४ गोल गरे स्पष्ट जित निकाल्दा भगवतीका नवराज गुरुङले इन्जुरी समयमा सान्तोवना गोल फर्काएका थिए । भगवतीविरुद्धको खेलमा चम्किएका आशिषले कुमारीका लागि २०औं मिनेटमा पहिलो गोल गरेका थिए ।
५३औं मिनेटमा दोस्रो गोल थप्दा ६४औं मिनेटमा ह्याट्रिक पूरा भएको थियो । उत्कृष्ट खेल प्रदर्शन गरेका आशिषले ७७औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए । यस अघि ५८ औं मिनेटमा विवेक पुनले दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान बाहिरिएका थए ।



‘बी’ डिभिजन लिग अन्तर्गत बिहीबार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र नयाँ वस्ती युवा क्लब तथा दोस्रो खेल झम्सीखेल युथ क्लब र ब्वाइज युनिन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।