गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ललितपुर महानगरको २० लाख सहयोग

ललितपुर फाल्गुन ७ । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले उक्त रंगशाला निर्माण गरिरहेको छ । महानगरले फाउन्डेसनलाई शुक्रवार आयोजित एक कार्यक्रममा २० लाख प्रदान गरेको हो । शुक्रवार ललितपुरमा आयोजित कार्यक्रममा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चेक हस्तान्तरण गरे ।
चेक हस्तान्तरण अघि महर्जन र कट्टेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । नगरप्रमुख महर्जनले सरकारले गर्नुपर्ने काम व्यक्तिले गरेकोमा धुर्मुस र सुन्तलीको प्रसंशा गरे । उनले यो रंगशालाको निर्माणले नेपाललाई अन्तराष्ट्रिय स्तरको ख्याति दिने दाबी गरे । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले हाल रंगशाला मैदानको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए ।
उनले आउँदो १४ महिनाभित्र रंगशाला निर्माणको काम पूर्ण रुपमा सम्पन्न हुने जानकारी दिए । काम गर्दा धेरै चुनौती बेहोर्नु परेको बताउँदै भने ऋण लिएर रंगशाला निर्माणको काम अघि बढाइरहेको छु , अवस्था सामान्य भए तोकिएकै अवधिमा काम सम्पन्न हुन्छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला खेलकुदको हब भएको बताउँदै यो रंगशालामा २२ वटा विधाको खेल खेल्न सकिने बताए ।
रंगशालामा ७७ वटै जिल्लाको नाममा फरक फरक कक्ष निर्माण हुने जानकारी दिदैं ललितपुर कक्ष समेत यस रंगशालामा निर्माण हुने बताए । रंगशाला निर्माणका लागि बागमती प्रदेशले ३ करोड , भरतपुर नगरपालिकाले ८ करोड प्रदान गरिसकेको छ । यसैगरी अन्य स्थानीय तहले पनि सहयोगको प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले ललितपुर महानगरको यो सहयोग फाउन्डेसनले गरेको काममा एउटा इँटा भएको बताए । कार्यक्रममा ललितपुर महानगरका २९वटै वडाका वडा अध्यक्षहरु , विभागीय प्रमुखहरुको उपस्थिति थियो ।