आईपिएल अक्सनः सन्दीप लामिछानेलाई कुनै टोलीले पनि चासो देखाएनन्

काठमाडौं, फागुन ६ । आईपीएल २०२१ को भारतको चेन्नाईमा मिनी अक्सनमा नेपाली स्पिनर सन्दिप लामिछानेलाई कुनै पनि टोलीले चासो देखाएनन् ।
४० लाख भारु बेस प्राइस राखेका सन्दिपलाई लिन कुनै पनि टिमले इच्छा नदेखाउँदा सन्दिप पहिलो दिनको अक्सनमा अनसोल्ड भएका हुन् । २०१८ मा पहिलो पटक आईपीएल खेल्न छनोट भएका सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली क्यापिटलले भित्र्याएको थियो। ३ सिजन दिल्लीमा बिताएपछि उनलाई दिल्लीको यो सिजन रिलिज गरेको थियो।
आईपीएलको युएईमा सम्पन्न पछिल्लो सिजन सन्दिपले कुनै पनि खेलमा अन्तिम(११ मा मौका पाएका थिएनन्। त्यस अघि पहिलो २ सिजनमा ८ खेल खेल्दा नेपाली स्पिनरले १३ विकेट आफ्नो नाम गरेका थिए। जारि अक्सनमा अफगानिस्तानका स्पिनर मुजिब उर् रहमान र कैस एहमद पनि बिक्रि भएनन्।
यस्तै, दक्षिण अफ्रिकी फास्ट बलर क्रिस मोरिस इन्डियन प्रिमियर लिग इतिहासकै महँगो क्रिकेटर बनेका छन्। आईपीएलको २०२१ सिजनको भारतको चेन्नाईमा जारि मिनी अक्सनमा मोरिसलाई राजस्थान रोयल्सले टिममा १६ करोड २५ लाख भारतीय रुपैयाँमा टिममा भित्र्याएको हो। आईपीएल अक्सनमा इतिहासमा कुनै पनि खेलाडीले पाएको यो सबैभन्दा ठुलो रकम हो।