ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महिला लिग फुटबलः वालिङ र आर्मीलाई सफलता

काठमाडौं, माघ २९ । क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोलको मद्दतमा वालिङ नगरपालिकाले राजधानीमा जारी महिला राष्ट्रिय फुटबल लिगमा बिहीबार सुखद नतिजा निकाल्दा अर्को खेलमा आर्मी विजयी भएको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकालाई ७–१ हराएको हो । जित सँगै वालिङले जारी लिगमा चौंथो जित निकालेको छ । उता पराजित चौदण्डीगढीको जारी लिगमा यो लगातार नवौ हार हो । वालिङको जितमा क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल गरिन भने क्यामरुनकै टौटा ओरनेला नोईलीले दुई गोल गरिन् ।

जारी लिगमा दोस्रो गोल फर्काएको चौदण्डीकी अन्जना थुलुङले एक गोल गरेकी थिइन् । वालिङलाई जिताउनका लागि एक्लैले पाँच गोल गरेकी मेथुले २५औं, ३४औं, ४४औं, ४८औं र ५५औं मिनेट गोल गर्दा नोईलीले ७१औं र ७२औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । जारी लिगमा दोस्रो गोल फर्काउँदा अन्जनाले ३२ औं मिनेटमा टोलीका लागि गोल गर्दै अग्रता छोट्याउने प्रयास गरेकी थिइन् । जितसँगै वालिङले ९ खेलमा १८ अंक जोडेको छ ।वालिङ लिगको तेस्रो स्थानमा रहेको छ । अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।

महिला लिग अन्तर्गत दिनको दोस्रो खेलमा आर्मीले विराटनगर महानगरापलिकालाई ७–० को फराकिलो अन्तरले स्तब्ध बनायो । विराटनगरलाई फराकिलो अन्तरले हराउँदा आर्मीकी शर्मिला थापा र विमला विकले समान २-२ गोल गर्दा सपना लामा, विमला चौधरी र रश्मी घिसिङले एक एक गोल गरे । जित निकालेको आर्मीले ९ खेलबाट २२ अंक बनाएको छ । पराजित विराटनगर १० अंक जोडेर पाँचौ स्थानमा छ । लिगमा शुक्रबार नेपाल पुलिस र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *