एपिएफले पहिलो जित निकाल्दा डायमन्डका लगातार दोस्रो जित

पोखरा, माघ २९ । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा बिहीबाार विभागीय टोली एपिएफले पहिलो जित निकाल्दा र होङ्गवान्जी न्यु डायमन्ड एकेडेमीले लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालामा भएको दिनको पहिलो खेलमा विभागीय टोली एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा स्तब्ध बनाउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । बलियो टोलीको रुपमा गनिदै आएको एपिएफकी खेलाडी सरस्वती चौधरी चोटले टोलीलाई निकै असर पारेको थियो । यस अघि भएको पहलिो खेलमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले आर्मी विरुद्ध पहिलो सेट १८–२५ ले गुमाएको थियो । दोस्रो सेटमा भने २७–२५ को मुस्किल जित निकालेको एपिएफले तेस्रो सेटमा भने २५–१७ को सहज जित निकालेको थियो । त्यसपछि आर्मीले चौथो सेटमा पुनरागमन गर्दै २५–२० ले आफ्नो पक्षमा बनायो । २–२ सेट पनि निकै रोमाञ्चक बनेको अन्तिम तथा निर्णायक सेटमा एपिएफले १५–७ ले पक्षमा पार्दै जित निकाल्न सफल भएको हो ।
जितपछि एपिएफले २ खेलबाट २ अंक जोडेको छ । पराजित आर्मीले लगातार तीन खेलमा नै पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत बिहीबारकै अर्को खेलमा न्युडायमन्ड एकेडेमीले विभागीय टोली नेपाल पुलिसलाई ३–१ को सेटमा पाखा लगायो । निकै प्रतिस्पर्धात्मक बनेका सुरुआती सेटमा न्यु डायमन्डले पहिलो सेट २७–२५ र दोस्रो सेट पुलिसले ३१–२९ ले आफ्नो पक्षमा पारेका थिए । त्यसपछि भने न्युडायमन्डले बाँकी सेट २७–२५ र २५–१६ ले आफ्नो पक्षमा पार्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।
यस अघि भएको पहिलो खेलमा न्यु डायमन्डले आर्मीमाथि जित निकालेको थियो । प्रतियोगिता अन्गर्तत बिहीबार नै भएको पुरुष तर्फको खेलमा त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरी बल (एपिएफ) लाई सोझो सेटमा हरायो । शसस्त्र प्रहरीमाथि हावी भएको आर्मीले पहिलो सेट भने प्रतिस्पर्धात्मक रुपमा लियो । २५–२३ को स्थितिमा लिदैं अग्रता बनाएको आर्मीले दोस्रो सेट भने २५–२१ मा लिदैं जित नजित पुगेको थियो । तेस्रो सेट भने २५–१८ मै लिएर आर्मीले शसस्त्र प्रहरी बलको चुनौतिलाई सहज जित निकाल्यो ।
प्रतियोगितामा शुक्रबार महिला तर्फ चर्चिति प्रतिद्वन्द्वी एपिएफ र न्यु डायमन्ड एकेडेमी बीच प्रतिस्पर्धा हुँदा पुरुष तर्फ भने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेल गण्डकी प्रदेशले एपिएफको सामना गर्दा अर्को खेल नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबीच हुनेछ।