सबैको रोजाइमा जुम्लाको मार्सी चामल
काठमाडौँ, २५ माघ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रीमा राखेको जुम्लाको मार्सी धानको चामल उपभोक्ताको रोजाइमा पर्न थालेको छ । यही माघ १५ गतेदेखि कम्पनीले काठमाडौँ उपत्यकाका बिक्री काउन्टरबाट बिक्री वितरण शुरु गरेको उक्त चामल शुक्रबारसम्म करीब एक हजार किलो बिक्री भइसकेको छ ।
कम्पनीले शुरुआती मूल्य प्रतिकिलो रु २२५ मा बिक्री गरेको थियो भने बिक्रीमा राखिएको आठ दिन सम्म शनिबारबाहेक काठमाडौँ उपत्यकाको पाँचवोटै बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट ९५१ किलो मार्सी चामल बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने बताउनु छ ।
उहाँका अनुसार मार्सी चामल बिक्री शुरु गरेकै दिनदेखि उपभोक्ताको रोजाइमा परेको हो । हामीले परीक्षणका रुपमा काठमाडौँ उपत्यकाभित्रका पाँचवटै बिक्री काउन्टरमा मार्सी चामल राखेका थियौँ तर नसोचेको बिक्री हुने गरेको छ, हालसम्मको बिक्री हेर्दा दैनिक एक सय किलोभन्दा धेरै परिमाणमा बिक्री हुने गरेको छ । शुरुआती चरणमा कम्पनीले जुम्लाको मार्सी चामललाई ‘नेपाल फुड’ ब्रान्डमा आकर्षण प्याकिङ गरेर काठमाडौँमा बिक्री वितरण शुरु गरेको हो । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरी काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्री शुरु गरेको हो ।
उहाँले कम्पनीले यसअघि बिक्री वितरण गर्दै आएको अन्य चामल जस्तै मार्सी चामल बिक्री भएको जानकारी दिनुभयो । हाल बिक्री भएको अनुपातको तुलनामा १५-२० दिनसम्म पुग्ने चामल भन्डारण गरिएको छ भने थप चामलका लागि जुम्लामा नै मार्सी धान खरीदको तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।
बन्दाबन्दीको शुरु गरिएको अनलाइनमा समेत उक्त चामल राखिएको कम्पनीले जनाएको छ । कम्पनीले चालू आर्थिक वर्षको कार्यक्रमभित्र रहेको जुम्लाको मार्सी धान खरीदको प्रक्रिया शुरु गरेको छ । धान खरीद प्राथमिक समितिले जुम्लाको मार्सी धान खरीद गर्न प्रतिकिलो १०२ रुपैयाँ ५० पैसा र चामल प्रतिकिलो १६२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
धानको मूल्य निर्धारणका लागि कम्पनीले प्रत्येक वर्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, स्थानीय कृषक समन्वय समितिका प्रतिनिधिलगायत रहेका छन् । कम्पनीले हाल रञ्जीत स्टिम चामल, सोना चामल, जापानिज चामल, कर्णालीमा उत्पादित सिमी, केराउ, दाना, मुसुरो र रहरको दाल बिक्री काउन्टर तथा अनलाइनमार्फत बिक्री वितरण गर्दै आएको छ ।