महिला लिग फुटबलः पुलिसविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौं, माघ २१ । पार्वती घलेले नवौं मिनेटमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा पुलिसमाथि रोमाञ्चक जित निकाल्दा विराटनगर तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ । विराटनगरले ६ खेलबाट १० अंक जोडेर तालिकामा स्थान सुधार गरेको हो । पराजित पुलिस भने दुई अंक पछि पर्दै चौंथो स्थानमा झरेको छ ।
निकै प्रतिस्पर्धात्मक भएको खेलमा विराटनगरले नवौं मिनेटमा पार्वतीको गोलबाट अग्रता लिएको थियो । डिफेन्डरको गल्तीको फाइदा उठाउँदै लिएको अग्रतालाई विराटनगरले अन्तिम सम्म कायम राखेर खेल पस्किदाँ जारी लिगमा तेस्रो जित निकाल्न सफल भएको हो । पुलिसले पछि परेको अवस्थामा एक पछि अर्को काउन्टर गरे पनि विराटन महानगरपालिकाको रक्षापंक्तिले उत्कृष्ट खेल देखाउन सक्यो । दोस्रो हाफको अन्तिम मिनेट तिर पुलिसले दबाब दिँदै खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र विराटनरलाई नजिता सुम्पिन बाध्य बन्यो ।


महिला लिग अन्तर्गत बुधबारै सम्पन्न दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले तालिकामा अंक विहिन चौदण्डीगढी नगरापालिकामाथि १२–० को फराकिलो जित निकाल्यो । शर्मिला थापाको ह्याट्रिक सहित पाँच गोलको मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले चौदण्डीगढी नगरपालिकाविरुद्ध फराकिलो जित निकालेको हो ।
शर्मिलाले पहिलो हाफमा नै ह्याट्रिकसँगै पाँच गोल गरेकी थिइन् । ६ मिनेटमा गोलको खाता खोलेकी शर्मिलाले १२, २३, २९ र ३६औं मिनेटमा गोल गरेकी थिइन् । फराकिलो जित निकाल्दा सपना लामाले दुई गोल थप्दा अञ्जली वाइवा, हेमा चौधरी, विमला चौधरी, रश्मी घिसिङ र विमला विकले एक÷एक गोल गरेका थिए ।जितपछि आर्मीको पहिलो चरणको खेलबाट १३ अंक भएको छ । आर्मी दोस्रो स्थानमा यथावत रहँदा पराजित चौदण्डीगढी पुछारमा छ । चौदण्डीगढीको लगातार छैटौं हार हो ।


पहिलो चरणको समाप्तिसँगै एपिएफ १८ अंकका साथ शीर्ष स्थानमा अटाउँदा १३ अंक जोडेको आर्मी दोस्रा, १० अंक जोडेको विराटनगर तेस्रो स्थानमा छन् । यस्तै समान ८ अंक जोडेका पुलिस र वालिङ क्रमश चौथो र पाँचौ स्थानमा रहँदा ३ अंक जोडेको चन्द्रपुर छैटौं र अंक विहिन चौदण्डीगढी पुछारमा रहेका छन् ।
महिला लिगमा दोस्रो चरणका खेल आगामी शनिबारबाट हुनेछन् ।
