गर्भनिरोधक औषधि : जति फाइदा, त्योभन्दा धेरै बेफादा

काठमाडौं, माघ २० । आकस्मिक गर्भ निरोधक औषधि एउटा हर्मोन प्रयोग बनाइएको खाने चक्की हो । जसले असुरक्षित यौन सम्बन्ध रहेको ५ दिन अर्थात १ सय २० घन्टाभित्र खाएमा गर्भ रहन रोक्न सक्नेछ । यद्यपि यसको प्रभावकारिता भने जति छिट्यो प्रयोग गर्यो त्यति नै बढी रहन्छ । यो एउटा यस्तो औषधि हो, जसले अनिच्छाको गर्भ रोक्न सक्छ ।
आकस्मिक गर्भनिरोधक औषधिमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक हर्मोन हुन्छ, जसले गर्भ बस्न दिँदैन । यसले गर्भ बस्न आवश्यक हर्मोनलाई नष्ट गरिदिन्छ र गर्भ बस्न सक्दैन । यो हर्मोनले पुरुष हर्मोन र महिला हर्मोनको बीचमा द्वन्द्व गरेर सेचन हुन नदिई गर्भलाई निस्क्रिय बनाइदिन्छ ।
यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रुण बन्न नदिने र यदि भ्रुणसमेत बनिसकेको अवस्थामा पाठेघरमा टाँसिन दिँदैन ।
सेचन भइसकेको भए पनि भु्रण बन्न ७२ घण्टा लाग्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिएको हो ।
आकस्मिक गर्भ निरोधक औषधि आकस्मिकरुपमा बिना सुरक्षा यौन सम्बन्ध भएमा गर्भ बस्न नदिनका लागि प्रायोग गरिने आकस्मिक विधि हो, न कि नियमित प्रयोगका रुपमा ल्याइएको औषधि । तर अहिलेको पुस्ताले यो औषधिलाई नै गर्भ नियमित गर्भ निरोधक औषधिका रुपमा प्रयोग गर्न थालेकामा वरिष्ठ स्त्री रोग विशेषज्ञको चिन्ता छ ।
युवापुस्ताले यो औषधिको फाइदा मात्रै बुझेको तर त्यसले स्वास्थ्यमा ल्याउने गम्भीर समस्याबारे उनीहरु बेखबर रहेकाले अवस्था डरलाग्दो बन्दै गएको डाक्टर भोला रिजालको भनाइ छ ।
आकस्मिक गर्भनिरोधक चक्की नियमितरुपमा खाने औषधि नभएको भन्दै यसको असर बारे प्रयोगकर्ता जानकार हुनैपर्ने सुझाव भनाई छ । यो औषधि न पूर्णरुपमा भरपर्दो छ न त सुरक्षित नै । परिवार नियोजनसम्बन्धि परामर्श, औषधिको मात्रा र खाने विधि, गर्भावस्थाको सामान्य ज्ञान, यसका जटिलता आदिका बारेमा जानकारी लिएर मात्रै आकस्मिक गर्भपतन औषधि सेवन गर्न प्रसुति गृहका निर्देशक डा. संगीता मिश्रको सुझाव छ ।
अहिले नेपालमा आकस्मिक गर्भनिरोधक औषधिको उत्पादन तथा आपूर्तिका लागि १४ वटा कम्पनी दर्ता भएका छन् । औषधी व्यवस्था विभागका अनुसार नेपालमा यस्ता औषधिका विभिन्न १४ वटा उत्पादक तथा वितरकहरु विभागमा दर्ता रहेका छन् । तर पनि यस्ता औषधीको उपलब्धता र सदुपयोग वा दुरुपयोगबारे भने विभागका प्रवक्ता सन्तोष के.सी अनविज्ञता जनाउछन् ।
बीबीसीका अनुसार अहिले विश्वका १० करोड महिलाहरु यस्ता औषधिको प्रयोग गरिरहेका छन् । युरोप, अष्ट्रेलिया र न्युजील्याण्डमा यस्तो औषधिको प्रयोग अत्याधिक रहेको छ । ती देशहरुमा कण्डमको बिक्रीमा दिनानुदिन कमी आउँदैछ भने यस्ता औषधिहरुको ब्यापारमा वृद्धि भइरहेको छ । यस्ता औषधिहरु अफ्रिका, ल्याटिन अमेरिका र उत्तर अमेरिकामा लोकप्रिय गर्भनिरोधकका लागि दोस्रो लोकप्रिय उपाय बनेको छ भने एसियामा गर्भनिरोधका लागि तेश्रो लोकप्रिय औषधि बनेको छ ।
पछिल्लो एक दशकमा नेपालमा पनि यस्ता औषधिहरु लोकप्रिय बन्दै गइरहेका छन् । दिनानुदिन कण्डमको बिक्री घट्नु र यस्ता औषधिको बिक्री बढ्नुले नेपालमा पनि यसको अत्याधिक प्रयोगको चित्र देखाइरहेको छ । विश्व बजारमा महिलाका लागि मात्रै उपलब्ध आकस्मिक गर्भनिरोधक चक्कीले स्वास्थ्य समस्या पनि महिलालाई नै दिइरहेको छ । महिला स्वास्थ्यका दृष्टिकोणले यो गम्भीर चुनौतीका रुपमा आउन थालेको छ ।