अदालतमा मुद्दा नभएको भए संसद बोलाउथ्यौं, ओलीलाई कारबाही गथौं,’ : प्रचण्ड

धनगढी, माघ १७ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीको तानाशाहीलाई परास्त गर्न संसदको मुद्दा अदालतमा नभएको भए संसद बोलाएर कारबाही गर्ने बताएका छन् ।
नेकपाको प्रचण्ड नेपाल पक्षले धनगढीमा शनिबार आयोजना गरेको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानलाई कुल्चिएर देखाएको तानाशाहीलाई जनताले परास्त गर्ने दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीको कदम बिरुद्ध कैलालीको धनगढीमा नेकपा प्रचण्ड–नेपाल समुहले विरोध सभाको कार्यक्रममा यस्तै बताएका हुन् । ‘अदालतमा यो मुद्दा नभएको भए संसद बोलाउथ्यौं, ओलीलाई कारबाही गथौं,’ अध्यक्ष प्रचण्डले सभालाई सम्बोधन गर्दै भने, ‘नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि यो कदमलाई अलोकतान्त्रिक भनेका छन् ।
केपी ओलीको चरित्र तानाशाही देखिएको छ ।’ प्रचण्डले ओली पार्टीमा एक तिहाईमा खुम्चिएको बताउँदै सडकमा समेत ओली एक तिहाईमा खुम्चिएको दाबी गरे । बुटवल, विराटनगर र धनगढीको सभाले ओलीलाई फुच्चे सावित गरेको उनले दाबी गरे । ‘सुदूरपश्चिम प्रदेशमा सभा गरेपछि ओली अलि बढी घमण्डी बनेर फुर्कँदै हिँड्नु भएको थियो’, प्रचण्डले भने ‘आजको तपाईंहरुको यो उपस्थितिले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको छ, तपाईंहरुले सडकमा पनि ओली एकतिहाइ मात्रै हो भन्ने पुष्टि गरिदिनु भयो ।’