ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

श्रीस्वस्थानी व्रत कथा आजदेखी सुरु, यस्तो छ महिमा

काठमाडौं, माघ १५ । हिन्दुहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजबाट सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

व्रत अवधिभर भगवान् शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्रीमहादेव पति पाऊँ भनी गरिएको व्रतकथा आजको दिनसम्म पनि हिन्दूधर्ममा आस्था राख्ने विवाहित तथा अविवाहित महिलाहरूले दीर्घायू,सुस्वास्थ्य,परिवारको प्रगति,आफ्नो घर,समाज तथा देशमा सुख शान्ति कायम होस् तथा आफ्नो मनोकामना,पढाइ,स्वास्थ्य,विदेश यात्रा तथा राम्रो नोकरीको अभिलाषा राख्दै व्रत बस्ने गरेको पाइन्छ ।

मार्कण्डेय पुराणको हिवमत खण्डमा वर्णन गरिए अनुसार व्रत शुरु हुनुभन्दा एक दिन अगाडी अर्थात् पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी पवित्र भई एक छाक मात्र भोजन गरी बस्नुपर्छ । भालिपल्ट पौष शुक्ल पूर्णिमाका दिन पवित्र खोला तथा तलाउमा नुहाएर आई पूजास्थलमा बसी शुद्ध जलले अभिषेक गरी आजदेखि म एक महिना श्रीस्वस्थानी परमेश्वरको व्रत आरम्भ गर्छु भनी दृढ प्रतीज्ञा वा सङ्कल्प गरी व्रत आरम्भ गर्नुपर्छ ।

पूजाका लागी तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिव लिङ्ग बनाई स्थापना गर्नु र अक्षता, बेलीपुष्प, यज्ञसूत्र, तिल, जौ, पान, सुपारी, बाती र फलफूल चढाइ पूजा गर्नुपर्छ । एक महिनाको अवधिभर झैझगडा गर्नु, दुर्वाच्य बोल्नु तथा नराम्रो कुरा सोच्नु हुँदैन । प्रत्येक दिन उठी नित्य कर्म गरी श्रीस्वस्थानी परमेश्वरीको पूजा गर्ने तथा मध्यान्ह भएपछी कथा सुन्ने सुनाउने गर्नुपर्छ ।

महिनादिन पछि दीप, कलश, गणेष आदिको वैदिक मन्त्रोउच्चारण गरिन्छ । विधिपूर्वक व्राह्मणद्वारा पूजा गराई आफ्नो नाम र गोत्र सम्झेर मन, वचर र कर्मले जानी नजानी गरेको सम्पूर्ण पाप नास होस् भनि कामना गर्नुपर्दछ । यस लोकमा सुख सम्पत्ती र मृत्यु उप्रान्त स्वर्गमा बास होस् भन्ने कामनाले यथाशक्ति श्रीस्वस्थानी परमेश्वरीलाई पूजा गरेँ अब मेरो मनोकामना पूरा होस भनी अर्घ दिनु र श्रीस्वस्थानी परमेश्वरलाई मनले सम्झनु पर्दछ ।

माघ शुक्ल पूर्णिमाका दिन १०८ रोटी, १०८ अक्षता, १०८ यज्ञसूत्र, १०८ बेलीपुष्प, १०८ पान, १०८ कुड्का सुपारी, जौ,तिल,फलफूल आदि सबै १०८ सगुनसमेत नाना उपचार तयार पारेर आर्शीमा ॐकार लेखी गङ्गाजलले स्नान गराउनु, श्रीखण्ड, रक्तचन्दन, अबिर, पुष्पमाला चढाई धूपदीप नैवैध, वस्त्र, भेटी अर्पण गर्नुपर्छ ।

पुजा सकेर अर्घ दिनु अनि प्रसाद झिकेर अष्टोत्तरमा आठरोटी, आठ अक्षता, आठ पुष्प, आठपान, आठ कुड्का सुपारी सगुनसमेत आफ्नो पतिलाई दिनु, पति नभए छोरोलाई दिनु, छोरो पनि नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए आफूले जुन मनोकामनाले व्रत गरेको हो त्यो पूरा होस् भनो खोलामा बगाइदिनु भनिएको छ । सय रोटी आफूले फलाहार गर्नु रात्रीमा जाग्राम बस्नुपर्छ भनिएको छ ।

स्वस्थानी व्रत सर्वप्रथम हिमालय पर्वतकी छोरी पार्वतीले श्रीमहादेव स्वामी पाऊँ भनी लिएकी थिइन् । व्रतका प्रभावले उनको मनोकामना पूरा भयो । त्यसछि पार्वतीले अश्वस्थामा सप्तऋषिलाई बोलाएर हे ऋषिवर पाताल लोकमा गएर को दुखी छन् तिनीहरूलाई पनि श्रीस्वस्थानी व्रत कथा विधिपूर्वक गर भनी आज्ञा गर्नुभएको थियो ।

ऋषिमुनिहरू पनि सप्त पातालको मूल रसातलामा पुगी दुःख पाएका नागिनीहरूलाई श्रीस्वास्थानी व्रत लिँदा आफ्नो मनोकामना पूरा हुने भन्दै सबै विधि बताएर फिर्ता भए । तिनै ऋषिहरूले बताएअनुसार दुःख पाएका नागिनीहरूले श्रीस्वस्थानीको व्रत लिए । त्यस व्रतका प्रभावले तिनीहरूका वर्षौदेखी हराइरहेका नाग घर आइपुगे । सबै प्रकारले सुख भोग गरी पातालमा रहदा भए भन्ने शास्त्रमा उल्लेख गरिएको छ ।

गोपिनीहरू पछि गोमा ब्रह्माणीले श्रीस्वास्थानी व्रत लिएको कथामा वर्णन गरिएकोछ । महादेवको श्रापपछि गोमाको सत्तरी वर्षका शिवशर्मा ब्राह्मणसँग विवाह भएको र भीक्षा माग्न गएका शिवशर्माको बाटैमा निधन भएपछि छोरा नवराज बाबुको खोजखबर गर्न घरबाट हिँडे । लामो समयसम्म नआएपछि गोमाले स्वस्थानी व्रतकथा लिएको र व्रत सकिएकै दिन नवराज घरमा आएको र त्यसको केहीपछि लावण्य देशमा राजा भएको कथामा उल्लेख गरिएको छ ।

नवराज लावण्य देशमा राजा भएपछि आफ्नी माइत गएकी पत्नीलाई लिन डोलेहरूलाई पढाए । डोलेहरूले चन्द्रवतीलाई लिएर फर्कँदै गर्दा डोलेहरूले भने हे महारानी हामीलाई भोक लाग्यो भनी अप्सराहरूले श्रीस्वस्थानी माताको व्रत गरिरहेको ठाउँमा पुगरे प्रसाद ग्रहण गरी चन्द्रावती रानीलाई पनि प्रसाद ल्याइदिँदा प्रसाद तथा श्रीस्वस्थानी परमेश्वरीको निन्दा गरेको हुनाले लावण्य देशको नजिक शाली नदी आधा पार गर्ने बित्तिकै आकस्मात चाँदनी टागेझैँ मेघ उठेर मूसलधारे पानी पर्यो र चन्द्रावती लडेर खोलामा पसिन् ।

त्यसपछि राजाको निमन्त्रणलाई स्वीकार्दै लावन्य देश हिँडेका दुई ब्राह्मणहरूले श्रीस्वस्थानी परमेश्वरीको व्रत विधि बताए । चन्दावतीले पनि पौषशुक्ल पूर्णिमाबाट नै विधिपूर्वक श्रीस्वस्थानी माताको व्रत लिई पहिले जस्तै भई स्वस्थ्य भई लावण्य देश गएको र रानी भएको कथामा उल्लेख छ ।

काठमाडौंको उत्तर-पूर्वमा पर्ने शाली नदीमा माधवनारायणको एक महिनासम्म मेला लाग्ने गर्छ । यो क्षेत्रमा स्नानका लागि विभिन्न ठाउँबाट लाखौँ भक्तजन आउने गर्छन् । माघ महिनामा त्यहाँ गएर स्नान गरेमा पाप पखालिई पुण्य मिल्ने धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *