कोरोना विरुद्धकाे खोप आजबाट सुरु, प्रधानमन्त्रीले उद्घाटन गर्दा पहिलो खोप डा.सागर राजभण्डारी र दोस्रो खोप डा. अनुप बास्तोलालाई
भारत सरकारले अनुदान स्वरुप प्रदान गरेको १० लाख खोप आजबाट देशभरका नागरिकहरुलाई लगाउन सुरु हुदैं छ । कोरोना विरुद्धको खोप अभियानको सुरुवात टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट केही समय पछि हुदैं छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पतालबाट अभियानको उद्घाटन गर्ने कार्यक्रम कोरोना विरुद्धको पहिलो खोप अस्पतालका निर्देशक डा.सागर राजभण्डारी र दोस्रो खोप टेकु अस्पतालका प्रवक्ता समेत रहेका डा. अनुप बास्तोलाले लगाउने कार्यक्रम रहेको छ ।
डा.बास्तोला पहिलो कोरोना संक्रमितको उपचार गर्ने डाक्टर हुन। नेपालमा चीनको उहानबाट आएका ३२ बर्षिय एक पुरुषलाई पुष २९ गते कोराना संक्रमण पुष्टि भएको थियो । तर त्यसको औपचारीक जानकारी भने संक्रमित डिस्चार्ज भइसकेपछि माघ ९ गते गराइएको थियो ।
डा. अनुपको टिमले एक–दुई दिन उनलाई पञ्जा, मास्कबिना नै उपचार गरेका थीए । लक्षण मिलेको र संक्रमण फैलिएको स्थानबाट आएका उनलाई शंकाको घेरामा राखेर स्वाब संकलन गरी परीक्षणका लागि हङकङ पठाइएको थियो । २३ जनवरीमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
सुरुमा कोरोना भित्रदा नेपालमा पीसीआर जाँच्न स्रोत र साधनसमेत थिएन भने अहिले देशभर ८० भन्दाबढी प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । भोलि देशभरका ६२ अस्पताल र १ सय २० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु हुनेछ ।
अभियान सुरु भएको एक हप्ताभित्र सम्पन्न गर्ने योजना सरकारको रहेको छ । काठमाडौं उपत्यकामा भने ११ वटा प्रमुख अस्पतालबाट खोप लगाउने योजना छ ।
उपत्यकाबाट खोप दिइने ११ अस्पतालहरु कुनकुन हो त?
१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
२. वीर अस्पताल
३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
४. पाटन अस्पताल
५. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल
६. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
७. भक्तपुर अस्पताल
८. शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
९. काठमाडौं मेडिकल कलेज, जोरपाटी
१०. सशस्त्र प्रहरी बलम्बु अस्पताल
११. शहिद गंगालाल अस्पताल