‘ए’ डिभिजन फुटसल बैशाख २५ देखि जेठ १५ सम्म पोखरामा हुने
काठमाडौं माघ १२ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटसलको ‘ए’ डिभिजन लिग बैशाख २५ देखि जेठ १५ सम्म पोखरामा हुने जनाएको छ ।
पोखरामा हुने फुटसलमान कुल १० टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश- १ र गण्डकी प्रदेशबाट २र२ टिम सहभागी हुने छन् । त्यस्तै प्रदेश-२ बाट एक र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त एक टिम हुनेछ ।
लिगका लागि प्रदेश-१ को छनोट खेलहरु चैत१ देखि ५ सम्म इटहरी प्रदेश -२ को छनोट हेटौडामा चैत ८ देखि १२ सम्म संचालन हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट दाङमा चैत १९ देखि २३ सम्म हुनेछ ।
बागमतीको छनोट खेलहरु काठमाडौंमा चैत २५ देखि ३० सम्म हुनेछ भने गण्डकीको छनोट खेलहरु पोखरामा बैशाख ३ देखि ७ सम्म संचालन हुनेछ ।
लिगमा ‘ए’,’बि’ र ‘सि’ डिभिजन क्लब, जिल्ला संघमा आबद्द क्लब तथा राष्ट्रिय खेलकुद परिषदमा आबद्द क्लबहरुले सहभागिता जनाउन पाउने छन्। लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने छन् । यस्तै सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् । एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउने छन् ।