अहिलेसम्मकै सानो उमेरमा अप्रेशन, १६ महिने बालिकाको नाकबाट निकालियो ब्रेन ट्युमर

एजेन्सी । भारतको चंडीगढका एन्डोस्किोपिक सर्जन र ईएनटी सर्जनहरुको एक टोलीले १६ महिनाकी बालिकाको ब्रेन ट्युमरको सफल उपचार गरेका छन । उत्तराखण्डको पोस्ट ग्रेजुएट ईन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (PGIMER) मा यस्तो अप्रेशन भएको हो ।
बालिका आयमराको ब्रेन ट्युमर नाकबाट निकालिएको यो विश्वकै दुर्लभ घटना भनिएको छ । यस खालको अप्रेशन गरिएकी बालिका आयमारा विश्वकै अहिलेसम्मकै सबैभन्दा सानो उमेरकी हुन । यो अप्रेशनलाई चिकित्सकीय भाषामा न्यूरोएण्डोस्कोपी भनिन्छ ।
आयमरा भारतको उत्तराखण्डकी बालिका हुन । उनले विगत २० दिनदेखि आफ्नी आमालाई राम्ररी चिन्ने या कुनै प्रतिक्रिया दिन नसक्ने समस्याबाट ग्रस्त थिइन । खासगरी उनको आँखा देख्ने क्षमतामा धेरै कमी आएको थियो । अर्थात राम्ररी देख्न नसक्ने उनको अवस्था थियो ।
PGIMER का डाक्टरहरुले उनको एमआरआई गरेपछि समस्या पत्ता लाग्यो । आयमराको मस्तिष्कमा ३ सेमीको ब्रेन ट्युमर देखियो । उनको मस्तिष्कको क्रेनियोफेरिंजियो अप्टिक नर्भ र हाइपोथेलेमस नर्भ भनिने नसाको नजिक ट्युमर थियो । यो ट्युमरको आकार र बालिकाको उमेरको हिसाबमा अहिलेसम्मकै ठूलो मानिएको छ ।
डाक्टरहरुका अनुसार यस खाले ट्युमरलाई ओपन सर्जरीबाट निकालिन्छ र यसले असर पारेको भागमा रेडियशन थेरापी गरिन्छ । तर पछिल्लो समय यस्ता ट्युमर नाकबाट पनि निकाल्ने प्रविधिको विकास भएको छ । यस्तो शल्यक्रियामा ईएनटी सर्जनको पनि सहभागीता रहन्छ ।
सामान्यतया यस्तो अप्रेशन ६ बर्षभन्दा माथीको उमेरका विरामीमा मात्रै गर्न सम्भव हुन्छ । तर बालिका आयमराको उमेर केवल १६ महिनाको मात्रै छ । त्यसैले उनी यस्तो अप्रेशन गर्ने अहिलेसम्मकै कम उमेरकी विरामी हुन ।
यसअघि सन २०१९ मा अमेरिकाको स्टेनफोर्डमा २ बर्षका बालकको यस्तो अप्रेशन गरिएको थियो । डाक्टरहरुका अनुसार साना उमेरका बालबालिकाको नाकबाट ब्रेन ट्युमर निकाल्ने काम निकै चुनौतिपूर्ण हुन्छ । नाकको प्वाल धेरै सानो हुन्छ । हड्डिको विकास पनि राम्ररी भएको हुँदैन । रगतका नसाहरु धेरै नजिक हुन्छन । त्यसैले यो अप्रेशनमा निकै साना औजारहरुको प्रयोग गरिएको पोस्ट ग्रेजुएट ईन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (PGIMER) डाक्टरहरुले बताएका छन ।
न्युरो सर्जरी विभागका डा. धण्डपानी एस एस र डा. सुशान्त त्यस्तै ईएनटी विभागकी डा.रिजुनिताको टिमले ६ घण्टा लामो अप्रेशन गरि १६ महिने बालिका आयमराको नाकबाट ब्रेन ट्युमर निकालेको हो । यो अप्रेशन सफल भएको छ ।
अप्रेशनपश्चात आयमरालाई आईसीयूमा राखियो । अप्रेशन गरेको १० दिनपछि आयमरामा निकै राम्रो सुधार देखिएको छ । उनको देख्न सक्ने क्षमतामा पनि राम्रो विकास भएको छ । सीटी स्क्यानको रिपोर्ट पनि राम्रै आएको भारतीय संचार संस्था एनडिटिभीले जनाएको छ ।