प्रदेश–१ को सान्तोवना जित, कर्णाली ५९ रनले पराजित

काठमाडौं, माघ ९ । कर्णाली प्रदेशलाई ५९ रनले पराजित गर्दै प्रदेश–१ ले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्तोवना जित निकालेको छ ।
कीर्तिपुर स्थिति त्रिभुवन विश्व विद्यालयको मैदानमा प्रदेश–१ ले दिएको २ सय १६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ३५ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १ सय ५६ रन बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको कर्णालीका लागि विपिन रावलले ४७ रनको व्यक्तिगत स्कोर बनाउँदा निश्चल रावलले ३१, कप्तान रविन्द्र शाहीले १८, दिवन पुन र दिनेश अधिकारीले ११ रनको योगदान गरे । अन्य ब्याट्स म्यान १० रन भित्र समेटिए । कसिलो बलिङ गर्दै सस्तैमा समेटेको प्रदेश–१ का लागि मिनास थापाले सर्वाधिक ५ विकेट आफ्नो नाममा राख्दा दिपेश कंडेलले ३ तथा मनोज तामाङले २ विकेट हात पारे ।
यस अघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय १५ रन जोडेको थियो । कप्तान सिद्धान्त लोहनीले अर्धसतकीय इनिङ्स खेले । ९७ बलको सामना गरेका सिद्धान्तले ९ चौका प्रहार गर्दै व्यक्तिगत ६६ रनको पारी खेलेका थिए । फिर्दोस अनसारी र श्रवण यादवले समान १७/१७ जोड्दा शुभांकर उरोले ३६ र मिनास थापाले २५ रन जोडे । अन्य ब्याट्स म्यानले राम्रो स्कोर गर्न सकेनन् । कर्णालीका रविन्द्र शाहीले ३ विकेट लिए । यस्तै दिनेश अधिकारी र अनुज चुनाराले समान २/२ विकेट निकाल्दा दिवन पुन र राज शाहका नाममा एक/एक विकेट रह्यो ।
जारी प्रतियोगितामा समूह ‘ए’ मा रहेको प्रदेश–१ ले सान्तोवना जित निकाले पनि अघिल्लो चरणको यात्रा समाप्त भइसकेको छ । प्रदेश–१ चौंथो स्थानमा रहेको छ । कर्णालीको भने यो दोस्रो हार हो । कर्णाली ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ ।