ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतले अनुदानमा दिएको १० लाख डोज खोप कसले लगाउने , कसले नलगाउने ?

माघ ८ , काठमाडौं

भारतले कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाललाई उपहार स्वरुप उपलब्ध गराएको छ । अनुदान स्वरुप प्राप्त भएको खोप नेपालले हाललाई टेकुमा भण्डार गरी १ साताभित्र मूलूकको सातै प्रदेशमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रृदेश त्रिपाठी र नेपालका लागि भारतिय राजदूत विनयमोहन क्वात्राले पत्रकार सम्मेलन गरी जानकारी भारतवाट खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आफ्नो ट्वीट मार्फत नेपालका लागि १० लाख डोज खोप लिएर भारतबाट जहाज उडेको जानकारी गराएका थिए । एयर इन्डियाबाट नेपाल आइपुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा ल्याइएको छ ।

नेपाल सरकारले कूल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिने योजना बनाएको छ । भारतीय राजदूत क्वात्राले कोभिड १९ को महामारीबाट कुनै एक राष्ट्रमात्र नभएर विश्व नै जुधिरहेका बेला नेपाल देशबाहिरबाट खोप पाउने पहिलो राष्ट्र रहेको समेत बताएका थिए ।

भारतले अनुदानस्वरुप उपलब्ध गराएको १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप पहिलो चरणमा नेपालको जनसंख्याको ३ प्रतिशतलाई मात्र लगाउने तयारी रहेको मन्त्री त्रिपाठीले जानकारी दिए ।

पहिलो चरणमा कसले पाउदैछन त खोप ?
१, सरसफाइकर्मी
२,स्वास्थ्यकर्मी तथा स्वयंसेविका ( देशभरबाट ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेका छन् ।)
३, एम्बुलेन्स चालक
४, शव व्यवस्थापनमा खटिएकाहरु
५, सुरक्षाकर्मी
६, जोखिममा रहेकाहरुलाई पहिलो चरणमा खोप दिइने छ ।

नेपालमा प्राप्त भएको खोप कोभिसिल्डको हो । यो खोपको साइडिफेक्ट पनि देखिन सक्छ ।

कस्ता ब्यक्तिले यो खोप नलगाउने त ?
भारतवाट अनुदान स्वरुप प्राप्त भएको कोभिसिल्ड खोपको साइइफेक्टका घट्नाहरु भारतमै पनि देखिएको छ । फाइजरको खोप लगाउदा युरोपमा एकैदिन २७ जना मानिसको मृत्यु भएका समाचार पनि वाहिर आएका छन् । त्यस्तै भारतमा पनि यसको असर देखिएपछी तोकिएको अनुपातमा खोप लगाउन समस्या सृजना भइरहेको छ । जसका कारण आममानिसहरुमा खोप लगाउने कि नलगाउने भन्ने वारे अन्योलता देखिन्छ । खोप निर्माता कम्पनी भारतको सिरम इन्स्टिच्युटले खोप प्रयोगका लागि विभिन्न शर्त अघि सारेको छ । एलर्जीको समस्या भएका,रोग प्रतिरोधात्मक क्षमता कम भएका ,गर्भवती,ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई सो खोप नलगाउन कम्पनीले आग्रह गरेको छ ।

खोप भण्डारण र वितरण कार्य कसरी भइरहेको छ ?

खोप ब्यवस्थापन विभागका अनुसार प्रदेश नम्वर १ को राजधानी विराटनगरस्थित भण्डारणमा पठाइएको खोप उक्त प्रदेशका सबै जिल्लाका साथै प्रदेश नम्वर २ को सप्तरी र सिरहामा पनि वितरण गर्नुपर्ने हुन्छ । भ्याक्सिन चिस्यान भण्डारण विराटनगरमा ९ हजार ७ सय लिटर क्षमताको राखिएको छ

 प्रदेश २ मा भने कुनै पनि भण्डारण केन्द्र राखिएको छैन । प्रदेश नम्वर २ का बाँकी ६ वटा जिल्लामा हेटौंडा भण्डारणबाट खोप व्यवस्थापन हुने विभागले जनाएको छ । हेटौंडामा २ हजार २ सय ५० लिटर भण्डारण क्षमताको चिस्यान प्रविधि जडान गरिएको छ ।

बाग्मती प्रदेशको मकवानपुर, सिन्धुली र चितवनमा आवश्यक खोप हेटौंडाबाट वितरण गरिनेछ  भने यस प्रदेशका १० जिल्लाका लागि काठमाडौंको भण्डारणबाट नै खोप उपलव्ध गराइनेछ ।


यता कर्णाली प्रदेशमा पनि आफ्नै चिस्यानयुक्त भण्डारण छैन तर यस प्रदेशका लागि नेपालगन्जबाट खोप वितरण गरिनेछ  । नेपालगन्जमा ७ हजार ५ सय लिटर क्षमताको भण्डारण केन्द्र जडित अवस्थामा छ ।

गण्डकी प्रदेशको पोखरामा ९ हजार ७ सय क्षमताको भण्डारण केन्द्र रहेको छ । गण्डकी प्रदेशको राजधानीवाट नै यस प्रदेशका सबै जिल्लामा आवश्यक खोप पठाउने तयारी गरिएको छ ।

लुम्बिनी प्रदेशको बुटवलमा ११ हजार २ सय लिटर खोप भण्डारण क्षमताको क्षमता रहेकोछ । बुटवलवाट नै यस प्रदेशको पनि सबे जिल्ला अस्पतालहरूमा आवश्यक खोपको डोज उपलव्ध गराइने छ । र सुदूरपश्चिम प्रदेशको धनगढीमा ९ हजार ७ सय लिटरको भण्डारण क्षमता रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *