राष्ट्रपति जो वाइडेनको सपथग्रहण समारोहलाई लक्षित गरेर अमेरिकामा सुरक्षा व्यवस्था कडा पारियो

एजेन्सी, माघ ७ । बुधबार हुने राष्ट्रपति जो वाइडेनको सपथग्रहण समारोहलाई लक्षित गरेर अमेरिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
राजधानी बासिङटन, न्यूयोर्कलगायत विभिन्न सहरमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सपथ समारोहअघि कुनै अप्रिय घटना नहोस भनेर बासिङटन डिसीस्थित संसद भवन क्यापिटल हिल बन्द गरिएको छ ।
बासिङटनमा प्रदर्शन गर्ने प्रयासमा रहेका केहिलाई प्रहरीले तितरवितर पारेको छ । राष्ट्रपतिको सपथका लागि सोमबार गरिएको ‘रिहर्सल’का क्रममा यो प्रदर्शनको प्रयास भएको हो । जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरे लगत्तै त्यहा सुरक्षा कडा पारिएको छ ।
सो आक्रमणमा प्रहरी सहित पाँच जनाको मृत्यु भएको थियो । ट्रम्प समर्थकले बाइडेनको सपथ समारोह अघि नै सबै राज्यमा हतियारसहित प्रदर्शन गर्ने चेतावनी दिएका छन ।
सुरक्षाको कारण देखाउँदै राष्ट्रपति बाइडेनको सपथ समारोहलाई समेत छोटो बनाइएको छ । सपथ समारोहमा सर्वसाधारण पनि सीमित संख्यामा मात्र उपस्थित हुने भएका छन ।