ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पल्सर स्पोर्टस अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने

काठमाडौं, पुस २७ । नेपालमा पहिलो पटका सेमि भर्चुअल प्रविधिबाट आयोजना हुन लागेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने अवार्ड मंगलबार सातदोबाटो स्थित करातेको कर्भडहलमा हुँदै छ । कार्यक्रममा कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्ड नेपालका प्रमुख टेलिभिजन च्यानलहरु एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रशारण हुने भएको हो ।

यसका साथै एनएसजेएफको युट्युब च्यानल, मिडिया हबलगायत खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिनेछ । यस्तै त्रिपुरेश्वरस्थिति वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ । कार्यक्रमका निम्तालु भने जुममार्फत जोडिनेछन् ।

कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक मञ्चका सदस्यको उपस्थिति मात्र रहनेछ । पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङलाइन सोमबार राति १२ बजेसम्म मात्र ई–सेवामार्फतको भोटिङ र फेसबुक लाइक अप्सन खुला रहनेछ । आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मत प्राप्त भइसकेको छ ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारको सम्मान कार्यक्रमकै दिन घोषणा गर्ने खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *