ओलीको प्रतिगमन विरुद्ध नेविसंघको उल्टो प्रदर्शन
काठमाडौं , पुस २४ ।
द प्रेस नेपाल संवाददाता

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसंगै त्यसको व्यापक जनविरोध भै रहेको छ । देशका विभिन्न स्थानमा विभिन्न राजनीतिक दल तिनका भात्रृसंगठन तथा नागरिक समाजले विरोध प्रदर्शन गरिरहेका छन् ।
शुक्रबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट विद्यार्थी संघ नेपाल विद्यार्थी संघले ओलीको कदमले मुलूकलाई पछाडि धकेलेको भन्दै उल्टो हिडेर सांकेतिक विरोध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णय गैह्रसंवैधानिक तथा सर्वसत्तावादी रहेको निष्कर्ष निकालेको नेपाल विद्यार्थी संघले उल्टो हिडेर प्रदर्शन गरेको हो ।

प्रधानमन्त्रीको उक्त कदमले मुलुकलाई प्रतिगमनको दिशा तर्फ धकेलिएको भन्दै सांकेतिक रुपमा उल्टो हिडेर प्रदर्शन गरेको नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाको भनाई छ । संविधानमा कतै नभएको धारा प्रयोग गरेर कानुनी राजको उपहास गरेको भन्दै तत्काल सच्चिन माग गरेको नेविसंघले आन्दोलनलाई अझ ससक्त बनाउने जनाएको छ ।
हरेक राजनीतिक परिवर्तनको सहयात्री बनेको र हरेक परिवर्तनमा विद्यार्थीले अग्रमोर्चा समालेको भन्दै यो पटकको आन्दोलनमा समेत नेपाल विद्यार्थी संघले निर्णायक भूमिका निर्वाह गर्ने नेपाल विद्यार्थी संघ महामन्त्री बलदेव तिम्लसिनाले जानकारी दिए ।

संसद विघटनको विरोध तथा प्रतिनिधिसभा तत्तकाल पुन स्थापनाको माग गर्दै विभिन्न राजनीति दल तथा नागरिक समाज सडकमा विरोध प्रर्दशन भइरहेको समयमा प्रतिपक्षी नेपाली काँग्रेसले समेत चरणवद्ध आन्दोलनको घोषणा गरिसकेको छ । यस्तो अवस्थामा समग्र विद्यार्थीलाई समेटेर आन्दोलनको आँधिवेरी सृजना गर्ने नेवि संघका अर्का महामन्त्री मनोज बैधको भनाई छ । नेविसंघले आज अन्य थप आन्दोलनको कार्यक्रमको घोषणा गर्ने तयारी गरेको जानकारी दिएको छ । ।