ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने

काठमाडौं, पुस २३ । नेपाल ट्राईयाथलन संघको आयोजनामा आगामी शनिबार टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ ।

नेपाल ट्राईयाथलन संघले कोभिडबाट आक्रान्त रहेको अवस्थामा स्थानिय ब्यक्तिलाई क्रियाशिल गर्दै खेलमार्फत रोगसंग लड्न सक्ने क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले च्यालेन्ज आयोजना गर्न लागिएको हो । अहिले ट्राईयाथलनसंग आवद्ध खेलाडी भन्दा नयाँ खेलाडीलाई प्रार्थमिकतामा राखेर च्यालेन्ज आयोजना गर्न लागिएकाे हो ।

च्यालेन्ज काठमाण्डौको टोखा, कीर्तिपुर र ललितपुर गरि तीन स्थानमा पाक्षिक रुपमा एक स्थानमा दुई दुई पटक स्थानिय निकायसंग समन्वय गरि आयोजना गर्ने र अन्य स्थानमा पनि खेलस्थलको निरिक्षण पश्चात च्यालेन्ज आयोजना गर्ने संघले जनाएको छ । च्यालेन्जले लामो समयका लागि खेलाडी उत्पादन गर्न र खेलाडीहरुलाई खेलप्रति उत्साहित गर्न मद्धत मिल्ने संघले जनाएको छ । संघले उपत्यका बाहिरका स्थानलाई महत्वमा राख्दै स्थानिय खेलाडी उत्पादन, प्रचार प्रसारमा नआएका स्थानलाई उजागर गर्दै आन्तरिक पर्यटन विकासलाई समेत मध्यनजर राख्दै प्रतियोगिता आयोजना गर्दै जाने लक्ष्य राखेको छ ।

ट्राईयाथलनको विधाहरु मध्ये क्रस दुवाथलन पनि एक हो । क्रस दुवाथलनमा २ दशमलव ५ किलाेमिटर दौड, १० किलाेमिटर साईक्लिङ्ग र १ दशमलव ५ किलाेमिटर दौड हुने संघका महासचिव एवं ट्राईयाथलनका बिज्ञ युवराज सुनुवारले जनाएका छन् । च्यालेन्ज उपत्यकाको ऐतिहासिक पुरानो सहर टोखाको गणेशस्थानदेखि चन्डेश्वरीसम्मको स्थानमा आयोजना हुने छ । च्यालेन्जलाई जम्प नेशनले सहयोग गर्न सक्ने संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।

जम्प नेशनसंग च्यालेन्जलाई सहयोग गर्ने बिषयमा छलफल भइरहेकाे संघले जनाएकाे छ । कोभिडको कारण प्रतियोगिता नभईरहेको अवस्थामा खेलकुदलाई क्रियाशिल बनाउन र कोभिडबाट बच्न रोगसंग लड्ने क्षमता विकास गर्न प्रतियाेगिताले सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *