फेसबुकले ट्रम्प पदमा रहुन्जेलसम्मका लागि प्रतिबन्ध लगायो
एजेन्सी, पुस २३ । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदमा कार्यरत रहुन्जेलसम्मका लागि प्रतिबन्ध लगाएको छ ।
फेसबुकका मालिक मार्क जुकरबर्गले बुधबार संसद भवनम ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले फैलाएको हिंसापछि उनलाई फेसबुकको सेवा दिंदा थप चुनौतीपूर्ण हुने बताएका छन्।
“राष्ट्रपतिलाई बाँकी समय पनि हाम्रो सेवा दिइरहनु निकै चुनौतीपूर्ण छ भन्ने लाग्छ,” जुकरबर्गले फेसबुकमा लेखेका छन्, “त्यही भएर शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण नभएसम्म फेसबुक र इन्स्टाग्राममा उनीमाथि लगाइएको प्रतिबन्ध जारी रहनेछ।”
यसअघि अर्को सामाजिक सञ्जाल ट्वीटरले बुधबारको संसद हिंसापछि ट्रम्पको ह्यान्डल १२ घन्टाका लागि बन्द गरिदिएको थियो।
ट्वीटरले त्यसपछि भने उनको ह्यान्डल खोलिदिएको छ। बिहीबार ट्रम्पले ट्वीटरमा भिडिओ पोष्ट गर्दै जनवरी २० मा आफूले बाइडेन प्रशासनलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बताएका छन्।
अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले राष्ट्रपति ट्रम्पलाई सबै सामाजिक सञ्जालले प्रतिबन्ध लगाउनु पर्ने बताएकी छिन , त्यस्तै सिनेटर मार्क आर वार्नरले राष्ट्रपति ट्रम्लाई सामाजिक सञ्जालले प्रतिबन्ध लगाउन ढिला भएको प्रतिक्रिया दिएको युएसए टुडेले जनाएको छ ।