इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्व रुपैयाँ वरावरको आईपिओ माघ २ गतेवाट निष्कासन हुने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासन गर्ने भएको छ । माघ २ बाट आईपीओ निष्कासन गर्ने र माघ मध्यसम्म बाँडफाँड गर्ने तयारी रहेको बैंकले जनाएको छ । सोहीअनुसार बैंकले पुस २१ गते मंगलबार सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।
नेपाल धितोपत्र बोर्डले पुस १० गते आईपीओ निष्कासन अनुमति पाएको बैंकले नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट समेत स्वीकृत लिइसकेको छ । बैंकले बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आठ अर्ब रुपैयाँबराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ । मंसिर ३ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाबाट कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारित गरेको थियो ।
निष्कासन स्वीकृत पाएको मध्ये ५ प्रतिशत अर्थात् ४० लाख कित्ता सामूहिक लगानी कोष र ०।२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने तयारी बैंक छ ।
देशकै पहिलो विशिष्टीकृत बैंकको रुपमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको बैंकमा हालको चुक्ता पुँजी १२ अर्ब छ भने आईपीओ जारी पछि २० अर्ब पुग्नेछ । आईपीओ जारीपछि सेयर संरचना ६०\४० हुने बैंकमा तीनजना साधारण सेयरधनीका तर्फबाट सञ्चालक चयन हुनेछन् ।
बैंकले आईपीओ निष्कासनको जिम्मेवारी एनआईबीएल एस क्यापिटललाई दिएको छ भने नबिकेको आईपीओका लागि प्रत्याभूतकर्ता अन्डर राइटर नागरिक लगानी कोषले गर्नेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘बीबीबी’ को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई ट्रिपल ‘बी’ को इस्युअर रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको आनईपीओमा गरेको लगानी मध्यम जोखिम जनाउँछ ।