ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्व विजेता वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक

पछिल्लो एक बर्ष यता मुख्य प्रशिक्षक विहीन रहेको नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक पाएको छ । क्याने आज एक विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकको रुपमा श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।
नेपालमा क्षमतवान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविश्य उज्जल भएकाले वाटमोर नयाँ चुनौतीका लागि तयार भएको उनका म्यानेजर कौश्तभ लाहिरीले बताएका छन् ।

प्रशिक्षकका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा थिए । पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ लगायतले अन्तर्वार्ता दिए पनि वाटकोर नियुक्त भएका हुन् ।

यस्तै क्यानको महाप्रवन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त भएका छन् । नेपालका पूर्व कप्तान एवं प्रशिक्षक समेत रहेका दासको जिम्मेवारी क्रिकेटसम्बन्धी सम्पूर्ण गतिविधि हेर्नु भएको क्यानले जनाएको छ । तीनै जनाको नियुक्ति जनवरी १, २०२१ बाट लागु हुने जनाईएको छ ।

वाटमोर श्रीलंकाको कोलम्बोमा जन्मेका हुन् । सन् १९६२ मा परिवार बसाई सरेपछि अष्ट्रेलिया पुगेका उनले त्यहाँको राष्ट्रिय टिमबाट खेल्ने अवसर पनि पाए । दशक लामो खेलाडी जीवनबाट १९८८÷८९ मा सन्यास लिएका उनी त्यसपछि प्रशिक्षणतिर लागे । श्रीलंकाले १९९६ मा विश्वकप जित्दा वाटमोर प्रशिक्षक थिए ।

श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायर पुगे । उनले दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताए । त्यसपछि फेरि श्रीलंका फर्किएका उनलाई १९९९ को विश्वकपमा भने सफलता हात लागेन । २००३ को विश्वकपमा भने श्रीलंकालाई उनले सेमिफाइनलमा पुर्याए ।

श्रीलंका क्रिकेटको रूपान्तरणबाट प्रभावित बंगलादेशले उनलाई प्रशिक्षक बन्न प्रस्ताव गर्याे । उनले श्रीलंकाकै जस्तो सफलता त दोर्होयाउन सकेनन् तर २००५ मा बंगलादेशले (जिम्बाब्वेविरुद्ध) पहिलो टेष्ट म्याच जित्यो भने कार्डिफमा भएको एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हरायो । २००७ को विश्वकपमा बंगलादेश ‘सुपर–एट’ का लागि छनोट पनि भएको थियो ।

बंगलादेश छाडेपछि उनी भारत र इंग्ल्याण्डको प्रशिक्षकका दावेदार पनि थिए । तर इंग्ल्याण्डले पिटर मोरेस र भारतले रवि शास्त्रीलाई प्रशिक्षक बनायो । २००७ मा उनी भारतको नेसनल क्रिकेट एकेडेमीको निर्देशक बने भने यू–१९ टिम पनि सम्हाले । त्यही बेला भारतले यू–१९ विश्वकप जित्यो । २००८ मा मलेसियामा भएको प्रतियोगितामा भारतीय कप्तान विराट कोहली थिए ।

२०१० र २०११ मा आईपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक रहेका उनले ४ मार्च २०१२ मा पाकिस्तान टिमको प्रशिक्षक नियुक्त भए । उनको प्रशिक्षणमा पाकिस्तानले एसिया कप जितेको थियो । पाकिस्तानमा सम्झौता सकिएपछि जिम्बाब्वे पुगेका उनले त्यहाँ पूरा काम गर्न पाएनन् ।

२०१७–१८ मा केरला क्रिकेट एशोसिएसनको मुख्य प्रशिक्षक रहेका उनी केरला क्रिकेटमा दीर्घकालीन प्रभाव छाड्न सफल भएको मानिन्छ । २०२० फेब्रअरीदेखि वाटमोर सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *