नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुत्ति प्रक्रिया अन्तिम चरणमा, ह्वाटमोरको सम्भावना प्रवल
काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयनका लागि अझै सात दिन समय लाग्न सक्ने बताएको छ । प्रमुख प्रशिक्षक चयनको अन्तिम चरणमा पुगेको क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट यही सातासम्ममा प्रशिक्षकको टुंगो लाग्ने विश्वास लिएको छ ।
टोलीको सहायक प्रशिक्षकको रुपमा मनोज कटवाललाई केही साता अघि नै नियुत्त गरेको क्यानले अबको सातादिन भित्रै मुख्य प्रशिक्षक पनि नियुत्त गर्ने सम्भावना छ । क्यानका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसीबाट प्रशिक्षको नाम स्वीकृत हुनासाथ प्रमुख प्रशिक्षक पाउनेछ, तर त्यसका लागि एक साता अझै कुर्नु पर्नेछ ।
‘क्यानले सबै प्रक्रिया पुरा गरेको छं’, क्यानका महासचिव तथा प्रवत्ता अशोकनाथ प्याकुरेलले भने, ‘केही दिन अझै पर्खनुको कारण भनेको आईसीसी व्यस्त रहनु हो ।’
आईसीसीले अझै पनि क्यानले सिफारिस गरेका नामका बिषयमा जानकारी नगराएको प्याकुरेलले बताए ।
क्यानले आईसीसीसंग सबै सहकार्य गरिसकेको अवस्था भएपनि आईसीसीको व्यस्त तालिकाका कारण नेपाली क्रिकेटको मुख्य प्रशिक्षक नियुक्तिका लागि नाम छनोट हुन सकेको छैन । आईसीसीले क्यानले पठाएका नाम मध्येबाट मुख्य १ जनालाई नेपाली टोलीको प्रशिक्षकका रुपमा स्वीकृत गर्नेछ । क्यानले आवश्यक सबै तयारि गरिसकेको र आईसीसीसंग छलफलसमेत अन्ति चरणमा रहेको क्यान प्रवक्ता प्याकुरेलले जानकारी दिए ।
‘हामीले हप्तादिन भनेकै धेरै समय भयो । तर, पटकपटक भनिरहँदा पनि प्रशिक्षक नियुक्ति हुन सकेन ।
त्यसको मुख्य कारण भनेको आईसीसीले कुनै निर्यय नगरेकाले हो’, मुख्य प्रशिक्षक नियुत्तिको प्रक्रिया अब भने अन्तिम चरणमा रहेको जानकारी दिँदै प्याकुरेलले भने, ‘अब भने आईसीसीले एकसाता भन्दा धेरै कुराउँदैन की भन्ने लागेको छ । ’
यस अघि मंसिरको दोस्रो सातासम्ममा क्यानले प्रमुख प्रशिक्षक नियुक्त गरिसक्ने योजना बनाएको थियो । जसका लागि क्यानले सबै गृहकार्य पनि सकेको थियो । स्रोतका अनुसार प्रमुख प्रशिक्षककोरुपमा क्यानले तीन जनाको नाम सिफारिस पनि गरेको थियो, तर आईसीसीको निर्वाचन र बैठक लगायतका कारणले प्रक्रिया लम्बिन पुग्यो ।
को बन्ला प्रशिक्षक ?
क्यानले मुख्य प्रशिक्षकका लागि उपयुत्त हुने भन्दै श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक डेव ह्याट्मोर, भारतीय प्रशिक्षक अपूर्व देशाई र इङ्गल्याण्डका निल म्याक्रे लगायतको नाम आईसीसीलाई सिफरिस गरेको थियो ।
क्यान स्रोतका अनुसार यसमध्धे अष्ट्रेलियाका डेभ ह्वाटमोर प्रशिक्षकको मुख्य दाबेदार हुन् । क्यानले यसपटक ह्वाटमोरलाईनै टिमको नेतृत्व दिने सम्भावना प्रवल छ । उनीसंगै दाबेदारको रुपमा भारतका अपुर्व देशाई पनि छन् ।
यसबाहेक स्कटल्याण्डका नील मार्टिन्स, भारतका चेतन शर्मा, श्रीलंकाका पुबुदु दासानायके र नेपालका शेरबहादुर (सुनील) लामा पनि क्रिकेट टोलीको प्रशिक्षकका लागि दाबेदार मध्धे हुन्, तर उनीहरुको प्रशिक्षक बन्ने सम्भावना नरहेको स्रोत बताउँछ । क्यानले मुख्य प्रशिक्षका लागि दरखास्त आह्वान गरेपछि ७२ जनाले निवेदन दिएका थिए । त्यसमध्धे २५ जना अन्तरवार्ताका लागि उपयुत्त ठहरीएका थिए ।
को हुन् ह्वाटमोर ?
श्रलंकाले ह्वाटमोरको प्रशिक्षणमा १९९६ को विश्वकप खेलेको थियो । १९९५ देखि १९९७ सम्म श्रीलंका राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा कार्यरत उनले पुनः १९९९ देखि २००३ सम्म श्रीलंकाको प्रशिक्षकको रुपमा काम गरेका थिए ।
यस्तै पाकिस्तान क्रिकेटको प्रशिक्षकको रुपमा २०१२ देखि २०१४ सम्म काम गरेको अनुभव भएका उनले बंगलादेशलाई पनि २०३ देखि २००७ सम्म प्रशिक्षण दिएका थिए । २०१४ देखि २०१६ सम्म जिम्बाव्बे क्रिकेटको प्रशिक्षणसमेत सम्हालेका उनले बिभिन्न फ्रेन्चाइज क्रिकेट टिमको प्रशिक्षकको रुपमा समेत काम गरेका छन् ।
म्यानेजरमा दास पक्का !
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा यू-१९ टोलीका प्रशिक्षक विनोद दासलाई क्यानले म्यानेजरको नियुक्ति दिने लगभग पक्का छ । क्यानले गत भदौमा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक सहित, जनरल म्यानेजर (महाप्रबन्धक) चिफ फाइनन्स अफिसर लगायतमा खुल्ला दरखास्त आवदेन माग्दा दासले पनि आवेदन दिएका थिए ।
जसका लागि उपयुत्त पात्रको रुवमा पूर्व कप्तान विनोद दासमात्रै थिए ।
‘क्यानले मुख्य प्रशिक्षक सहित क्रिकेट म्यानेजरसम्मको अन्तरवार्ता लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई पठाएको लामोसमय भएको छ । सम्भवत यो साता पछि क्यानले यी सबै बिषय टुंगो लगाउनेछ । ’ प्याकुरेलले भने ।