ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

८० प्रतिशत महिलासँग आफ्नै मोबाइल

नेपालका प्रत्येक दुई घरपरिवारमध्ये एक जना इन्टरनेटको पहुँचमा रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ प्रतिवेदनले प्रत्येक दुईमध्ये एक जना घरपरिवारसँग अर्थात् कुल घरपरिवारमध्ये ५१ दशमलव १ प्रतिशतले कुनै न कुनै उपकरणबाट इन्टरनेट प्रयोग गरेको पाइएको उल्लेख गरेको छ ।

इन्टरनेट प्रयोगकर्तामध्ये १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७९ दशमलव ३ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको तथ्य पनि सर्वेक्षणले पत्ता लगाएको छ । त्यस्तै ९२ दशमलव ४ प्रतिशत महिलाले गत तीन महिनामा मोबाइल प्रयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यसमध्ये पनि सहरी क्षेत्रका महिलामध्ये ८१ दशमलव ८ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ। भने ग्रामीण क्षेत्रका ७३ दशमलव ६ प्रतिशतसँग आफ्नै मोबाइल रहेको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ।

सहरी क्षेत्रका महिलामध्ये ९३ दशमलव ५ प्रतिशत र ग्रामीण क्षेत्रका ८९ दशमलव ९ प्रतिशतले विगत तीन महिनामा मोबाइल प्रयोग गरेको पाइएको छ । आफ्नै मोबाइल रहेका सो उमेर समूहका महिलामध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशका ९१ दशमलव ८ प्रतिशतसँग मोबाइल रहेको सर्वेक्षणले देखाएको छ । सबैभन्दा कम कर्णाली प्रदेशका ७१ दशमलव ८ प्रतिशतसँग मात्र आफ्नो मोबाइल रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले यो समूहका १४ हजार आठ सय पाँच महिलालाई सर्वेक्षणमा सहभागी गराएको थियो । त्यसमध्ये गण्डकी प्रदेशका एक हजार २५७ र कर्णाली प्रदेशका ७९८ जना महिला सहभागी रहेको उल्लेख छ । सर्वेक्षणमा सहभागी दुई हजार ११४ काठमाडौँ उपत्यका क्षेत्रका यही उमेर समूहका महिलामध्ये ९५दशमलव ४ प्रतिशतसँग आफ्नै मोबाइल रहेको तथ्याङ्क पनि प्रतिवेदनले सार्वजनिक गरेको छ ।

सोही उमेर समूहका पुरुषमध्ये ९१दशमलव ४ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको पाइएको छ । गत तीन महिनामा ९६दशमलव ८ प्रतिशत पुरुषले मोबाइल प्रयोग गरेको देखिएको छ । यसमध्ये पनि सहरी क्षेत्रका ९३ प्रतिशत र ग्रामीण क्षेत्रका ८७दशमलव ५ प्रतिशतले आफ्नै मोबाइल फोन प्रयोग गरेको पाइएको छ । विभागले यो सर्वेक्षणमा सबै प्रदेशसहित पाँच हजार ५०१ जना पुरुषलाई सहभागी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *