२४ बर्षमा उप-प्रमुख बनेकी जुनितालाई हाम्रो प्रश्न – अव गाउँपालिका प्रमुख की राजनीतिबाट सन्यास ?
झण्डै २० बर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा वडा देखि गाउँ पालिका, नगरपालिका प्रमुख, उप–प्रमुखको टिकट पाउन बर्षै देखि राजीति गरिरहेकाहरुलाई पनि निकै सकस भयो । अहिले अधिकांस स्थानीय तहका जनप्रतिधिहरु निकै उमेर ढल्कि सकेका छन् । तर सोलुखुम्बुको माप्ये दुधकोसि गाउँ पालिकाकी उप–प्रमुख जुनितामायाँ मगर भने तीन बर्ष अघि चुनाव हुँदा मात्रै २४ पुरा गरेकि थिईन । २४ बर्षको उमेरमै गाउँ पालिकाको उप–प्रमुख बनेकि जुनितामायाँ पढाईमा पनि उतिनै अब्बत छिन् । उनले सोलुखुम्बु बाट शिक्षा शास्त्र संकायमा स्नाकोत्तर गेरेकि छन् । राजनीतिमा लाग्ने युवापुस्ता केहि गर्ने नसकेर राजनीतिमा आउने गरेको पछिल्लो ट्रेनलाई उनले भत्काई दिएकी छन् । प्रस्तुत छ द प्रेस नेपालका लागिे उनै उप–प्रमुख जुनितामायाँ सँग गरेको कुराकानीको सम्पादित अंश ।।
पछिल्लो समय युवा पुस्तामा राजनीति प्रति वितृष्णा बढि रहेको बेला तपाई कसरी राजनीतिमा प्रवेश गर्नु भयो अनि उप प्रखुम बन्नु भयो ?
यो त अहिले देशको आवस्यकता पनि भन्नु पर्छ । जति राजनीतिक नेताहरुले राजनीति गरि राख्नु भएको छ, उहाँहरुको कार्यशैली, उहाँहरुले लिइराखेको नेतृत्वप्रति अहिलेको युवा पुस्ता सन्तुष्ट छैन । अहिलेको युवाहरुले नेतृत्व लिन सक्यौं भने सायदै अलि परिवर्तन आउन सक्छकी ? हामीले सोचेजस्तो, हाम्रो समुदायको परिवर्तन ल्याउन पनि युवाहरु रानीतिमा होमिरहेको अवस्था छ ।
म २४ बर्षको उमेर हुदाँ संघियताको कुरा आयो, स्थानीय तहहरुको निर्वाचन हुने त्यसमा अध्यक्ष वा उपाध्यक्ष मध्ये कुनै एक महिला हुनु पर्ने संविधानमै व्यवस्था थियो । त्यस पछि म चाहीँ सोसल वर्करको रुपमा काम गरिरहेको कारणले जुनीता आउदाँ ठिक हुन्छ, जुनितालाई ल्याउदाँ चुनाव जितिन्छ । भन्नु भयो र चुनावमा टिकट पनि पाइयो र चुनाव जितेर अहिले गाउँ पालिकाको उप–प्रमुख भएर काम गरिरहेकी छु ।
अरु केहि गर्न नसकेर राजनीतिमा लागेको भन्ने अहिले पछिल्लो समयमा चर्चा लिरन्छ र देखिन्छन् पनि तपाईले कसरी अध्ययन गर्नु भयो ?
यो हाम्रो बुझाइ भनेको राजनीति प्रतिको वितिष्णाको कारणले उब्जिएको एउटा डर लाग्दो समस्या हो । राजनीति अन्य नीतिको पनि नीति भएका कारण राजनीतिमा आउने व्यक्ति नपढेको होईन । औपचारीक सँगसँगै अनौपचारीक शिक्षामा उत्तिकै लगन भएको हुन पर्छ ।
मैलै सोलोखुम्बुबाट शिक्ष शास्त्र संकायमा स्नाकोत्तर सकेकी छु अनि अहिले चै एलएलबिमा समेत भर्ना गरेकी छु ।
तेसो भए विद्यार्थी जीवनबाटै राजनीति सुरु गर्नु भयो होला नि हैन र ?
विद्यार्थी जीवनमा तेती धेरै राजनीति गरिएन । सुरुमा कक्षा ७ मा पढ्दा चै अनेरास्वियुको सचिव भएर एक कार्यकाल काम गरे । त्यस पछि चाँहि एकै पटक यो निर्वाचन भन्दा अलिक अघि अनेमसंघको गाउँ इकाइ समितिको कोषाध्यक्ष भएर एक कार्यकाल काम गरे । तेत्रो धेरै चै त्यहाँबाट भएन ।
पार्टीमा महिलाको उपस्थिति कम्जोर थियो, तपाई आउदाँ जितिन्छ भन्ने पार्टीले निष्कर्ष गर्दै गर्दा तपाईको मनोवृति कस्तो थियो ? तपाई उपाध्यक्ष बन्दै गर्दा पनि पार्टीको सदस्य त हुनु पथ्र्यो । नत्र टिकट नै मिल्ने थिएन । त्यो वेलामा राजनीति प्रवेश चै कस्तो रह्यो ?
त्यो चै अलिक फरक छ । सुरुमा अव मैलै बुझेको हामी कामहरु गरिरहदाँ राजनीतिक पावर धेरै हुने, जुन सुकै ठाउँमा राजनीतिक पावर भए काम हुने नत्र नहुने हुन्थ्यो । हामी पनि त्यो ठाउँमा पुग्न सके पहुच बनाउन सके कस्तो हुन्थ्यो, त्यही राजनीतिक पहुँच नपुगेका कारणले हामी पछाडी परिरहेका छौं भन्ने लाग्थ्यो । आफ्नो कोही सहयोगि नहुने त्यस्तो वेलामा आफु त्यो ठाउँमा पुग्यौं भने भोली हामी सँगसँगै हाम्रो भाइ बहिनी वा हाम्रो पछिल्लो पुस्ताले के गर्न सक्छन् कि भन्ने मनस्थिति हुन्थ्यो ।
तर म एउटा प्रोजेक्टमा काम गर्ने भएकोले अरुले पनि यो राजनीति यस्तो, पर्टी यस्तो, सँगठनको कुरा हुन्थ्यो तेतिबेला राजनीति तिर जादाँ ठिकै हुने रहेछ । एक हिसावले यो पनि त सामाजिक काम नै रहेछ भन्ने लाग्यो । राजनीतिबाट आफुले चाहेको र समाजले चाहेको विकास गर्न सकिन्छ भन्ने लाग्यो । यसरी राजनीति तिर झुकाव बढ्दै गएको समयमा पार्टीले टिकट पनि दियो ।
पार्टीमा अग्रज महिलाको कमी छन भनेर अघि नै भन्नु भयो तर तपाई भन्दा अग्रज शून्य नै त होईनन् होलानि, उहाँहरुको चित्त पनि बुझाउनु पर्ने थियो होला ?
हामी भन्दा सिनियर पार्टीमा धेरै लगानी गर्ने दिदीहरु पनि हुनुहुन्थ्यो । हामी त पछाडी आएको । धेरेले मलाई यो हिसवाले पालिकामा मुख्य मुख्य व्यक्तिहरुले चिन्नुहुन्थ्यो । प्रोजेक्टमा काम गरेकोले त्यो फाइदा भयो । त्यस माथि दुधकोशी पारी दुइवटा वडा भएकाले गाउँको दाई दिदीहरुले पनि उपाध्यक्ष जुनिताले पाउनु पर्छ भन्ने दवाव पार्टीलाई दिएका कारण पनि सहज बन्यो । यो सँगै वारी पनि क्षेत्रित्व,जातित्वको हिसावले सवैलाई समेट्न सक्यो भने निर्वाचन जित्न सहज हुन्छ भनेर नै टिकट पाउन सहज बन्यो र सोही अनुसार जितियो पनि ।
अग्रज दिदीहरुको पनि व्यवस्थान थियो, विद्यार्थी राजनीति पनि तेति धेरै गरेको हैन भन्नु भयो ? टिकटका लागि कति ठूलो लडाइ लड्नु पर्छ त्यो देखेकै विषय हो, तपाई सहजै टिकट पाउनेमा पर्नु भयो, तपाईको पारिवारीक राजनीतिक पृष्ठ भूमि बलियो भएर त हैन नि ?
साच्चै भन्ने हो भने मेरो परिवारमा यो राजनीति गर्ने मान्छे कोही पनि हुनुहुन्न । पछि चूनावमा मैले जितिसकेपछि अरुले भन्थे यो जुनिताको परिवारमा न दाइले राजनीति गरे, न बुबाले न बाजेले राजनीति गरे यो एक्कै यसरी अगाडी आयो पनि भने । त्यसमाथी पनि राजनीति गर्ने मान्छे प्राय बाहिर रहन्छ । सधै घरको काम गर्न भ्याइदैन सधै घरमा बस्न भ्याइदैन । बाहिर बसेर काम गर्नलाई अलि ग्राहो पनि हुन्छ । अहिले महिलाहरुले पनि केही गर्न सक्दो रहिछन् भन्ने कुरा हुन थालेको छ । जसका लागि महिलाको विकास त गर्नु नै पर्यो । तेतिकै बसेर मात्र त हुने हैन । महिला आफु केही गर्छु भन्ने र परिवार तथा समाजले त्यसलाई साथ दिने हो भने गर्न सक्ने रहेछन् । निर्वाचन जितिसकेपछि यति सानो उमेरमा जितेको छ राम्रोसँग काम गर्नु भनेर सुझाव दिई रहनुहुन्छ । तेसैले पनि काम गर्न उत्साह थपेको छ ।
ठ्याक्कै कामको कुरा आइहाल्यो, केही हिसावमा प्रमुखको काम भन्दा धेरै उप–प्रमुखले गर्नु पर्छ, संविधानले नै न्याय सम्पादनको जिम्मा उप–प्रमुखलाई दिएको छ, ठ्याक्कै समाजसँग जोडिएर न्याय सम्पानद कति सहज कति असहज छ ?
यो न्यायलयको जिम्मेवारी अलि ग्राहो छ । ग्राहो भन्दा पनि यसलाई चूनौति छ भनौं, किन चुनौति छ भने अहिले पो हामी पढ्दै छौ । न्याय निरुपणको जिम्मा लगाएपनि कोही कानुनी सल्लाहकार छैन । सल्लाहकार नै राखेपनि फोनबाट सबै बुझ्न ग्राहो छ । न्याय सम्पादन गर्न अलि ग्राहो नै छ । तेसैले अहिले एक जना कर्मचारी राखेको छु । उहाँले म नहुदाँ निवेदन दर्ता गर्ने आएको छ भन्ने गर्नु हुन्छ । म कानून पढ्दै पनि छु तर मैले पढ्दै गरेको र यहाँ गर्नु पर्ने काम फरक हुदो रहिछ । संविधानले जे कार्यदिशा दिएको छ । त्यो भन्दा फरक प्रकृर्तिका केसहरु आउदा रहेछन् । तर जे भएपनि गाउँ घरमा हुने सबै समस्याको समाधान त फेरी गर्नै पर्यो ।
कानुन पढेको जानेको कर्मचारी गाउँपालिकामा भयो भने अलि सहज हुने रहेछ जसका लागि एउटा दरवन्दि नै राख्न सक्ने हो भने न्याय सम्पादन सहज हुन्छ जस्तो लाग्छ ।
तपाई कसैको छोरी, कसैको नातिनी, कसैको के कसैको के हुदाँ समस्याहरु पनि तपाईको आफन्तको नै आउने भयो, मेरो मान्छे छ मैले जे गरेपनि हुन्छ भन्ने केस हुन्छ कि हुँदैन् ?
त्यो त मान्छेमा भै हाल्छ नि । कसैमा कति सम्म हुन्छ भने म त्यहाँ छु कुनै समस्या पर्यो भने फलाना मेरो मन्छे हो । उसले मिलाई दिई हाल्छ नि भन्ने त हुन्छ । तर फेरी तेस्तो केस हाम्रो सम्वन्धसँग भएको केस हामीले हेर्न मिल्दैन । हामी ३ जनाको न्यायीक समिति छ । मेरो नाताको पर्ने मैले हेर्न मिल्दैन त्यो अर्को सदस्यले हेर्नु हुन्छ । तर यति हुदाँहुदैँ पनि आशाचै हुन्छ ।
निर्वाचित भएको ३ बर्ष भयो अव फेरी नयाँ निर्वाचन नजिकिदैँ छ, यो बीचको मूल्याङ्कन गर्दा आफुलाई कति सफल मान्नु हुन्छ ?
आफुले जानेको बुझेको गरेकी छु । अन्य सँग सहकार्यको प्रयास गरेकी छु । मतदाताले दिएको जनादेशको कदर गर्ने प्रयास गरेकी छु । समग्रमा जनताका पक्षमा रहेर काम गर्ने गरेकी छु । यसो भनि रहदाँ सबैको चित्त वुझाउन कठिन अवस्य हुन्छ । सके सम्म प्रयास गरेकी छु सफल नै भएको जस्तो लाग्छ । तर अझै धेरै काम भने गर्न बाँकी नै छ ।
एउटा २४,२५ बर्षको युवाती बजार भर्ने, मेला भर्ने साथीभाइ सँग रेला ढट्टा गर्ने हुन्थ्यो, तर अब त्यो बाट अलि संयमित पनि हुनु पर्छ, पदिय गरिमाका कारण यस्तो बेला कस्तो हुदो हरेछ, फेरी हाम्रो मनस्थिति त्यही हो ?
हाम्रो समाजमा सबैभन्दा पहिला विकास गर्नु पर्ने भनेको नै मानिसको सोचमा जस्तो लाग्छ । हामीले ठूलो ठूलो महल, बाटो बनाएर विकास गरे भन्नु भन्दा पहिला मानिसको सोचमा विकास गर्न आवस्यक छ । जबसम्म मानिसको सोचमा विकास गर्न सकिन्न तबसम्म विकास गर्यौं भन्ने नहुदो रहेछ ।
तर म पहिला देखिनै घुमघाम बजार खासै नजाने मान्छे । प्राय अहिले पनि जादिन । कहिले काँही गाउँमै भएको कार्यक्रम छ भने जान्छु । त्यहाँ मानिसले हेर्छन् होला तर तिमि फलानो यस्तो उस्तो भनेर अहिले सम्म भने कसैले भन्नु भएको छैन । भन्नु हुन्छ भने पनि हाम्रो समाज तेस्तो छ नि त । महिलाहरु कोही पनि बाहिन निसक्न हुदैँन,पुरुषहरुसँग हिड्नु हुदैँन । पुरुषै पुरुष भएको ठाउँमा एउटा महिला हिड्दा महिलालाई नै नराम्रो भन्ने त हाम्रो समाज नै हो नि । हो यही सोचलाई हामीले परिवर्तन गर्नु पर्छ । तर मलाई भने तेस्तो ग्राहो भने छैन् ।
उपाध्यक्ष हुनु पहिलाका साथीहरुको व्यवहार अहिले कस्तो छ ? मेरो साथी उपाध्यक्ष भै भन्ने एक किसिमको गर्व होला, कतिलाई त ढाहा पनि त होला ?
पहिला देखिनै साथीसँग ग्रुप बनाएर हिड्ने, हल्ला गर्नै बानी नै थिएन र छैन पनि । स्कुलको समयमा पनि घरबाटै स्कुल गइन्थ्यो, कलेज पढ्दा त्यही डेढ बर्ष जति सल्लेरी कोठा बसे त्यसपछि पुरै जागिरले व्यस्त बनायो । त्यो कारणले पनि खासै घुम्न जाने ओर्ने पनि भएन । तर तेसो भनिरहदाँ साथी नै नभएको होइन । साथीहरुसँग गाउँमा भेट गर्ने फोनमा कुरा गर्ने मात्र हुन्छ । साथीसँगको सम्वन्ध पुरानो जस्तो थियो तेस्तै छ । उहाँहरुको सोचाइ पनि पहिला कै जस्तो छ होला जस्तो लाग्छ ।
यो ३ बर्षको अवधिमा समाजका लागि, तपाईले गाउँपालिका लागि तपाईले के के काम गर्नु भयो ?
विशेषत मैलै अघि पनि भने हाम्रो समाजमा महिला दिदीबहिनीको अवस्था सुधार गर्न आवस्यक छ । तेसैले पनि हामी महिलाले पनि राजनीतिक रुपमा अघि बढ्नु पर्छ भनेर राजनीतिक चेतको विकासमा काम गरिरहेका छौं । विकास निर्माणमा भन्ने हो भने भर्खरै पुल उद्घाटन गर्यौं सगरमाथासँग सिधा सडक सञ्जाल जोड्ने गरीको । दुधकोशी पारी रहेका दुईवटा वडा जुन मेरो गाउँ पनि तिनिहरु जोड्ने पुल निर्माण गर्दैं छौं । सडक वितार गर्दै छौं । कतिपय स्थानमा सामुदायिक भवन निर्माण गरिरहेका छौं । खानेपानी स्वास्थ्य क्षेत्रमा जोडिएका छौं ।
५ बर्षे कार्यकालमा बाकीँ २ बर्ष छ । आगामि स्थानीय तहको निर्वाचनको पनि तयारी सुरु गर्ने बेला भयो, अब चाँहि गाँउपालिका प्रमुख बन्ने हो की अथवा राजनीतिलाई कसरी अगाडी बढाउनु हुन्छन् ?
गाँउपालिका प्रमुख बन्नै पर्छ भन्ने पनि छैन, हुनु हुदैन भन्ने पनि छैन । जनताको चाहना जुनिता अध्यक्ष हुनु पर्छ भन्ने भयो र पार्टीले पनि त्यही आधारमा टिकट दियो भने असम्भव पनि छैन । तर दुई पार्टी पूर्व एमाले र पूर्व माओवादी मिलेकाले हाम्रो भागमा टिकट नै नपर्ने हो कि ? त्यही पनि जनतको मूल्याङ्कनको आधारमा भविश्य निर्धारण हुन्छ होला जस्तो लाग्छ ।
संविधानले स्थानीयतहमा प्रमुख वा उप–प्रमुख मध्य एक जना महिला अनिवार्य हुनु पर्ने व्यवस्थाका कारण मात्र महिलाको यतिको उपस्थिती भएको होला । त्यो पनि ७ सय ५३ स्थानीय तहहरु मध्य अधिकांसमा महिला उप–प्रमुखमा खुम्चनु परेको छ, महिला शसक्तिकरण गर्ने हो भने त अब प्रमुखको दावेदी महिलाले प्रस्तुत गर्नु पर्दैन र ? त्यसका लागि महिलाहरु कतिको तयार छन भन्ने प्रश्न होला नि त हैन र ?
संविधानले दिएको अधिकारमा महिलाहरु आएको हो यो सत्य हो । महिलाहरु धैरै क्षमता भएका हुनुहुन्छ । हाम्रै गाउँ पालिकामा पनि धेरै शसक्त महिला दिदीबहिनीहरु हुनुहुन्छ । तर मैले अघि पनि भने नी सोचको कुरा छ नि त यहाँ । पार्टीको शिर्ष नेतामा समेत यो सोचको विकास हुदैँन यो महिलाले गर्न त सक्छ तर नदिउँ अहिले पुरुषले नै गर्नु पर्छ भन्ने पितृसतात्मक सोच छ नि त । त्यही सोचका कारण यहाँ क्षमता भएका महिलाहरु पनि आउन सक्ने अवस्था छैन् ।
३ बर्ष उपाध्यक्षको काम गरी सक्नु भयो अब अझै दुई बर्ष बाँकी छन्, अब तपाईलाई गाँउपालिका प्रमुख बनायो भने काम गर्न ग्राहो छ र ?
सकिन्छ किन नसिकने । त्यहाँ पनि सिङ्गो अध्यक्षले मात्र हैन त्यहाँ पनि टिम छ । टिमले गर्ने हो । फेरी पनि पार्टीले टिकट दियो मतदाताले मत दिएर जिताउनु भयो भने काम गर्न ग्राहो छैन । तर फेरी पनि भने सोचाइमा परिवर्तन भने आवस्यक छ ।
धन्यवाद