उडान प्रतिबन्ध हटाउने ईयूको सङ्केत
नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको लामो समय पछि युरोपेली सङ्घ (ईयू) ले उडान अनुमति दिने संकेत गरेको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै ईयूले हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न नेपाल सरकारले देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै ईयूले भनेको छ – ‘नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा ईयू जानकार छ’,
संसद्मा दर्ता भएको विधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीनवटा मापदण्ड कार्यान्वयनमा लैजान सकिने स्पष्ट पार्दै ईयूले ब्रसेल्समा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पछिल्लो पटक भएका सुधारका विषयमा प्राविधिक छलफल अघि बढाउन सकिने बाटो खुलेको जनाएको छ ।
सुरक्षा सूचीबाट बाहिरिएपछि सङ्घको हवाई सुरक्षा एजेन्सीबाट नेपालको मागका आधारमा आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउन सकिने विज्ञप्तिमा जनाएको छ । यो सहयोग ईयूले दक्षिण एसियाली उड्डयन सहकार्य परियोजना अन्तर्गत उपलब्ध गराइरहेको ६० करोड रुपियाँभन्दा बढीको सहयोगको विकल्पका रूपमा हुनेछ ।
ईयूले नेपालको प्राधिकरणले स्थानीय र क्षेत्रीय रूपमा सुरक्षा व्यवस्थापन गर्न प्रयास गरिरहेको उल्लेख गरेको छ । ईयूले नेपाललाई सन् २०१३ डिसेम्बर ५ देखि सुरक्षा सूचीमा राखेको थियो ।