बुद्ध एयर अब दूर्गम केन्द्रित, काठमाडौं बेसलाई छोडेर मन्थली र पोखरा आधार

मंसिर २१, काठमाडौं । केही वर्षदेखि अन्तर्राष्ट्रिय उडानको योजना बनाईरहेको बुद्ध एयरले उक्त योजनालाई डिप फ्रिजमा राख्दै अब आन्तरिक उडानमा नै केन्द्रित हुने उनले भएको छ ।
अन्तरिक उडानको ५० देखि ५५ प्रतिशत हिस्सा ओगटेको बुद्धले अब सहायक कम्पनी स्थापना गरि दुर्गममा आक्रामक रुपले उडान अघि बढाउने कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् ।
छुट्टै सहायक कम्पनी स्थापना गरेर त्यसमार्फत दूर्गममा पनि उडान थाल्ने गृहकार्य अन्तिम चरणमा पुगेको उनले बताए । सहायक कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहने र सुरुआतमा तीनवटा जहाज ल्याएर उडान थाल्ने जानकारी दिएका छन् ।
हालसम्म बुद्धले काठमाडौंलाई आधार बनाएर सुगम रुटमा मात्रै उडान गर्दै आएको छ । दुर्गम उडानका लागि भने काठमाडौं बेसलाई छोडेर काठमाडौंबाहिरका मन्थली र पोखरालाई आधार बनाएर देशैभरका सबै दुर्गम गन्तव्यमा उडान भर्ने कम्पनीले जनाएको छ ।
दुई विमानस्थलमध्ये मन्थली (रामेछाप) लाई बेस बनाएर नेपालको पूर्वी भेगका सम्पूर्ण दुर्गम गन्तव्यहरु र पोखरा (कास्की) लाई बेस बनाएर विमानस्थल भएका पश्चिम नेपालका सबै दुर्गममा उडान सञ्चालन गर्ने तयारी सुरु भइसकेको बताइएको छ । सोहीअनुरुप एक साताभित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा डकुमेन्टेसन फाइलिङको प्रक्रियामा जान लागेको पनि बस्नेतले बताए ।
दुर्गममा चलाउन लागि बुद्धले लेट फोर टेन, ट्विनअटर र सेस्ना मध्येका मोडेलको जहाज ल्याउने प्रकृया पनि अघि बढाएको छ ।
यसअघि दुर्गममा ४० यात्रु क्षमताको एटीआर–४२–६०० एस जहाज चलाउने योजना बनाएको थियो । सन् २०२२ भित्रै डेलिभरी गर्ने भनेको जहाज कोभिडका कारण अब कम्तिमा त्योभन्दा एक वर्षपछि मात्रै दिनसक्ने निर्माता कम्पनीले बताएपछि बुद्धले अन्य जहाज कम्पनीहरुसँग नेगोसिएसन सुरु गरेको हो ।
२०२१ सेप्टेम्बरभित्रै दुर्गममा उडान थाल्ने गृहकार्यमा जुटेकाले उक्त अवधिसम्म पर्खिन नसक्ने भएकाले पनि बुद्धले हाल यी रुटमा उडिरहेकै प्रकारका जहाज ल्याउन खोजेको छ । यसबाहेक दुर्गमका विमानस्थलको क्षमता तथा रनवेका कारण पनि कम्पनी तत्कालका लागि अन्य जहाजको विकल्प हेर्न बाध्य भएको बताइएको छ ।
नेपाली आकाशकै लागि नौलो हुने बताइएको एटीआर–४२–६०० एस जहाजले न्यूनतम आठ सय मिटर लम्बाईको धावनमार्ग चाहिन्छ ।