भिजिट भिसाका नाममा दिनहुँ डेढ सय बढि महिला तस्करी
कोरोना महामारीका कारण विदेशीनेको लर्को रोकिएपनि लुकिछिपी जानेको क्रम भने अझै उच्च छ ।कोरोना महामारीबीच विभिन्न व्यक्ति तथा म्यानपावर कम्पनीहरुले रोजगारीको प्रलोभन देखाएर युएई भिजिट भिसामा नेपाली पठाइरहेका छन् ।
नेपालबाट करिब दैनिक २ सय जनालाई युएई भिजिट भिसा विभिन्न व्यक्ति र म्यानपावरका एजेन्टले पठाउने गरेको पाइएको छ । जसमा १ सय ५० जना महिलाहरु नै भिजिट भिसामा युएई गइरहेका छन् ।
मानव तस्करले भिजिट भिसामा अधिकांश महिलाहरुलाई नै पठाइरहेका छन् । उनीहरुलाई नेपालबाट भिजिट भिसामा पठाएर युएईमा घरेलु काममा लगाइने गरेको पाइएको छ ।
सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएपनि मानव तस्करले सेटिङ मिलाएर नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् ।
तस्करले अध्यागमन विभागका कर्मचारी, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । अध्यागमन विभागले भिजिट भिसाका लागि सेटिङ मिलाउन सहयोग गरेको आशंकामा १५ जना कर्मचारी समेत सरुवा गरेको थियो ।
भिजिट भिसाको सवै प्रक्रिया पुराएका आएका व्यक्तिलाई रोक्न नमिल्ने अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र अधिकारीले जानकारी दिएका छन् ।
अध्यागमन विभागले शंका लागेका व्यक्तिलाई सोधीखोजी गरेर अनुसन्धानका लागि फकाउने गरेको छ । सबै प्रमाण पु¥याएर आएका व्यक्तिलाई रोक्न समस्या हुने उनको भनाइ छ ।
भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी नियन्त्रण गर्ने सम्बन्धीत मन्त्रालयले चासो देखाएको पाईदैन् । यो विषयमा सम्बन्धीत निकाय जानकार भएपनि भिजिट भिसाका नाममा मानव तस्करीमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन । जसका रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा नेपाली विभिन्न देश पु¥याउने क्रम बढ्दो छ ।
तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेतलगायत मुलुकमा कामदार पठाइरहेका छन् । यसरी खाडी मुलुक र मलेसिया पुग्ने नेपाली युवायुवती उतै बस्ने गरेका छन् । भिजिट भिसामा गएको कतिपय अलपत्र र समस्ष्यामा पर्ने गरेका छन् ।
प्राय एयर अरेबायाको उडानमार्फत
एयर अरेबिया र अध्यागमनका कर्मचारीले भ्रमणको उद्देश्य नखुले पनि भिजिट भिसा भएकाहरूलाई बोर्डिङ पास र प्रस्थान अनुमति (डिपार्चर) दिदै आएको छ । यसरी भिजिट भिसामा जाने कामदारलाई सेटिङमा राती २ बजेको एयर अरेबियाको उडानमार्फत पठाउने गरेका छन् ।
भिजिट भिसामा युएई जाने व्यक्तिसँग टिकटसहित सेटिङका लागि प्रतिव्यक्ति २ लाख रुपैयाँ दलालले दिने गरेको भिजिट भिसामा जाने महिलाहरुले बताउँदै आएका छन् । नेपालमा भिजिट भिसामा जाने प्राय सबै राति २ बजेको एयर अरेबियाको उडानमार्फत जाने गरेको अध्यागमनका एक कर्मचारीले जानकारी दिएका छन् । राती जाँदा प्राय चेकिङ कम हुन्छ । त्यही भएर भिजिट भिसा जाने व्यक्तिहरुलाइै यहि समय उपयुक्त हुने गरेको उनको भनाइ छ ।
युएई हुँदै अन्य देश
अघिल्लो साता युएई भिजिट भिसामा पुगेका ५ जना महिला हाल त्यहाँको अजनमी प्रान्तमा बसेका छन् । नेपालबाट रोजगारीका लागि भिजिट भिसामा युएई पुगेको जानकारी दिए ।
‘भिजिट भिसामा आएको करिब २ हजार महिला अजमनी प्रान्तमा छन् । भिजिट भिसामा आएका महिलाहरुलाई घरेलु काम लगाइदै छ । हामी अहिले ४० जना जति एउटा घरमा बसेका छौ ।’ उनले भनिन, ‘भिजिट भिसामा आएका महिलाहरुलाई युएई हुदै अन्य देश पनि लगिदै छ । यहाँ आएपछि कुन देश जाने हो भनेर एजेन्टले सोध्दा रहेछन् । हामी चाँही युएईमै बसेर काम गर्ने भनेका छौ ।’ भिजिट भिसामा आउने प्राय सबैले एजेन्टलाई २ लाख २० हजार बुझाइको उनको भनाइ छ ।
प्रलोभन परी भिजिट भिसा नजान्न विभागको आग्रह
कोरोना भाइरसका कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि म्यानपावरका एजेन्ट र व्यक्तिले युएई भिजिट भिसामा कामदार पठाइरहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
यूएई लगायतका विभिन्न देशमा राम्रो काम र सेवासुविधाको प्रलोभनमा भिजिट भिसामा पठाएका श्रमिकहरु ठगीमा पर्ने क्रम सुरु भएको भन्दै प्रलोभनमा परी भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान विभागका सूचना जानकारी गराएको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।
भिजिट भिसामा विदेश काम गर्दा कुनै मानसिक र शारीरिक हिंसा भएमा वा कुनै कानूनी अप्ठेरो परेमा व्यक्ति स्वयम नै जिम्मेवार हुनपर्छ । विभागले पटक पटक रोजगारीका लागि भिजिट भिसामा कुनै पनि व्यक्तिको प्रलोभनमा परेर नजान आग्रह गरिरहेको उनको भनाइ छ ।
यूएई भिजिट भिसामा नजान विभागले सूचनामार्फत सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।