छोरीको ज्यान ठूलो किन समाजको इज्जत !

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–७ का रामअयोध्या साहले आफ्नै कान्छी छोरीलाई हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रौटहटले पक्राउ गरेको छ । जसलाई प्रहरीले ‘अनर किलिङ’ भनेर व्याख्या गरेको छ ।
‘परिवारको इज्जतमा आँच आउने भएपछि हत्या भएको अनुसन्धानबाट खुलेको छ । जिल्लाका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले यसलाई अनर किलिङ भनि व्याख्या गरेका छन् ।
प्रहरीका अनुसार किशोरवयदेखि नै अमृताको आफूभन्दा झण्डै दोब्बर उमेर र विवाहित पुरुष सोशिन्द्रप्रसाद भगत महतोसँग प्रेम बसेको थियो । ३० वर्षीय भगतका दुई सन्तान छन् । अन्तरजातीय र विवाहित भएकै कारण परिवारले छोरीको प्रेमलाई तिरस्कार गरिदियो । त्यसपछि परिवारले छिमेकी जिल्ला सर्लाही मधुवनगोठका रूपेश साहसँग अमृताको गत फागुनमा मागी विवाह गराइदियो ।
तर, अमृता र रूपेशको घरजम जम्न सकेन । अमृतालाई विवाह गरेको केही समयपछि सोशिन्द्रले रूपेशलाई छुरा प्रहार गरेर घाइते बनाइदिए । त्यसपछि अमृता माइतीकै शरणमा थिइन् । गत असारमा यो दम्पतिबीच सम्बन्धविच्छेद भयो ।
एसपी साहका अनुसार रूपेशले सोशिन्द्र र अमृताविरुद्ध जाहेरी दिएका थिए ।
बेइज्जतीको डरले ज्यानै उडायो
छोरी पक्राउ परे वा सोशिन्द्रसँग विवाह गरे दुवै अवस्थामा आफ्नो सामाजिक प्रतिष्ठा गुम्ने भयले परिवार बेइज्जतको चपेडामा पर्याे । र, एकदिन रामअयोध्याले सीता देवीलाई सुनाए, ‘छोरी अमृतालाई मारिदिनुपर्याे ।’
एसपी शाहका अनुसार छोरी मार्ने कुरालाई सीता देवीले स्वीकारिनन् । त्यसपछि पति रामअयोध्याले कि छोरीको पक्ष लिन र कि आफ्नो लिनुपर्ने भन्दै श्रीमतीलाई दबाब दिए । त्यसपछि आमासमेत छोरी मार्न राजी भइन् ।
रामअयोध्याले ज्वाइँ लक्ष्मण साहसँग हत्याको योजना बनाइसकेका थिए । योजनाअनुरूप नै १७ वर्षीया अमृतालाई २६ कात्तिकको राति कञ्चटमा गोली हानेर मारिएको थियो । आमा–छोरी सँगै सुते पनि आमा शौचालय गएको समय पारिएको थियो ।
सुपारी लिनेसहित अमृताको हत्या गर्ने ६ जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ । एक लाख रुपैयाँ सुपारी दिएर अमृताको हत्या गराउन लगाएको प्रहरीले बताएको छ ।
हत्यामा संलग्न बाआमा रामअयोध्या–सीता देवी, भिनाजु लक्ष्मणसहित प्रहरीले देवाही गोनाही नगरपालिका–२ करुनियाँ लक्षमिनियाका ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भने ईस्लाम अन्सारी र ३५ वर्षीय शेख ईन्ताजलाई पक्राउ गरेको हो ।