ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राजस्व वृद्धिका लागि करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण जरुरी : अर्थमन्त्री पौडेल

काठमाडौं,  मंसीर ७ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताए ।

नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताएका छन । उनले कर परीक्षण कर,अनुसन्धान , बजार अनुगमन , प्रशासनिक पुनरावलोकन , बक्यौता असुली , बेरुजु फछर्यौट जस्ता  परिपालनाका विधिलाई कडाइका साथ लागू गर्ननिर्देशन दिए ।

अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत , सेवाग्राहीमैत्री व्यवहार, प्रकृयागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिएका छन् । यस्तै करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा र पहुँच बिस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजस्व विभाग र मातहतका सबै राजस्व कार्यालयलाई निर्देशन दिएका छन् ।

उनले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यवसायिक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गरेका छना् ।

अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीहरुलाई शासकका रुपमा होइन, नागरिकको सेवकका रुपमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञा लगायतका आवगमनका अवरोधबाट अर्थतन्त्रमा आएको संकुचनको बावजुद आर्थिक वर्ष २०७६/७७ को राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व संकलन हुने गरी कर सहभागिता जनाउने करदातालाई धन्यवाद दिएका छन् ।

उनले कोभिड महामारीको विषम परिस्थितिमा समेत आ-आफ्नो कार्यथलोमा अनवरत खटिएर कर्तव्य पालन गर्ने कर प्रशासन सम्वद्ध कर्मचारीलाई धन्यवाद दिएका थिए ।  

अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा योगदान गर्न विगतमा झैं निरन्तरको सहकार्य र सहयोगका लागि सम्पूर्ण करदातालाई अपिल गरेका छन् ।

आन्तरिक राजस्व विभागको चालु आर्थिक वर्षका लागि तय गरेको कार्यमूलक सूचकमा तोकिएको लक्ष्य हासिल गर्न र आर्थिक ऐन २०७७ मार्फत ल्याइएका विभिन्न योजना तथा सुधारका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा योगदान हुनेमा अर्थमन्त्री पौडेलले विश्वास लिएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *