ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पाण्डेमाथि भएको नाराबाजिको नेपाल पक्षबाट चर्को विरोध

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनस्थित आफ्नै निर्वाचन क्षेत्रमा अभद्र व्यवहार भएको छ । शनिबार नेकपा राप्ती नगरको बैठकमा सहभागी हुँदै गर्दा युवाहरुको एक समूहले उनीविरुद्ध नाराबाजी र अभद्र व्यवहार गरेका हुन् । पार्टीको सो बैठकलाई सम्बोधन गर्दैगर्दा कार्यक्रम हलमै रहेको कार्यकर्ताले चर्को नाराबाजीसहित उनीमाथि अभद्र व्यवहार भएको बताइएको छ ।
अघि पाण्डेले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै ओलीको व्यक्तिवाद नसच्चिए पार्टी समाप्त हुने चेतावनी दिएका थिए । पार्टीको निर्णय नमान्ने, एकलौटी ढंगले सरकार चलाउन खोज्ने, प्रधानमन्त्रीको कार्यशैलीले नेकपा कमजोर बनेको उनको दावी थियो ।

पाण्डेको अभिव्यक्ति पार्टी एकताको माहौललाई थप बिगार्ने गरी आएकाले प्रतिवाद गर्नु परेको नाराबाजीमा उत्रिएका कार्यकर्ताहरूले दावी गरेका छन् । कार्यकर्ताको चर्को होहल्ला र अभद्र व्यवहारपछि पाण्डे कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
यस घटनाको बिषयमा भने ओली र प्रचण्ड–माधव नेपाल समूहबीच चर्को अन्तरविरोध रहेको छ । सो अन्तरविरोध कात्तिक २८ गतेको नेकपा सचिवालय बैठकमा छुट्टै प्रस्ताव ल्याएको पार्टी कार्यकारी अध्यक्ष प्रचण्डले ओलीविरुद्ध आरोपको पोको खोलेपछि थप छताछुल्ल बनेको अवस्था छ । सो प्रस्तावपछि पार्टी विभाजनको डिलमा पुगेको भनिएको बेला विवाद मिलाउने प्रयास जारी छ । सोही क्रममा नेकपाको मंसिर ३ गतेको सचिवालय बैठकले ओलीले पनि छुट्टै प्रस्ताव ल्याउने र त्यसका लागि १० दिन समय दिइएको छ । जसअनुसार मंसिर १३ गते ओलीले छुट्टै प्रस्ताव सचिवालयमा पेश गर्ने गरी तत्कालका लागि ‘युद्धविराम’ जस्तो देखिएपनि आरोप प्रत्यारोपको श्रृङ्खला जारी रहेको हो । जुन चितवनमा पाण्डेको अभिव्यक्ति र ओली निकट भनिएका कार्यकर्ताको प्रतिवादपछि उत्पन्न परिस्थितिले प्रस्ट्याएको छ । पाण्डे वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *