नेपालगन्ज म्याराथनको च्याम्पियन बन्दै एपिएफका गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट

ओलम्पिक छनोटको रुपमा रहेको छैटौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बन्दै विभागीय नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका छन् ।
शनिबार बिहान भएको म्याराथनमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का ५ हजार मिटर दौडका स्वर्ण विजेता गोपीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबका कृष्णा बस्नेतलाई पछि पार्दै च्याम्पियन बनेका हुन् । पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरे । दोस्रो भएका आर्मीका बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे ।
गतवर्षको विजेता आर्मीकै नवराज साउदले २ घन्टा ३१ मिनेट २१ सेकेन्डमा चौथो स्थान हासिल गरे । नेपाली सेनाकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ४६ मिनेट ४१ सेकेन्डमा पाँचौ स्थान हासिल गरे । सुदुरपश्चिम प्रदेशका मुकेश बहादुर पालले २ घन्टा ४७ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै छैटौ स्थान हासिल गरे ।
च्याम्पियन बनेसँगै गोपीले ७५ हजार रुपैया हात पारे । दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो भएको साउदले १०, पाँचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौमा सेनाका नवराज साउद विजेता भएका थिए ।