चाडपर्व पछि कडा लकडाउन गर्न उपत्यका मेयर्स फोरमको माग

काठमाडौं । उपत्यका मेयर्स फोरमले लकडाउनको माग गरेको छ । मेयर संघका उपाध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार फोरम र कोभिड—१९ व्यवस्थापन सञ्चालन केन्द्रको एक साता अगाडि बसेको बैठकले कडा लकडाउनको माग गरेका हुन् ।
बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा उपस्थित भएका थिए । बैठकमा १४ जना मेयरहरू मात्र उपस्थित रहेका जानकारी दिँदै महर्जनले भने, ‘उपस्थितमध्ये तीन, चारजनाले कडा रूपमा लकडाउनको माग गरेका थिए । तर काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य भने न्युट्रल कुनै प्रतिक्रिया नदिएको बताए ।
कार्यक्रममा गृहमन्त्री थापाले छठपछि विधिपूर्वक लकडाउन गरिने आशय व्यक्त गरेको महर्जनको भनाइ छ । तर त्यसका लागि स्वास्थ मन्त्रालयको सिफारिस तथा गृह मन्त्रालयले प्रस्ताव लैजानुपर्ने उनले जनाए । ‘उक्त प्रस्ताव क्याबिनेटले पास गरे मात्र पुनः लकडाउन हुन सक्ने महर्जनले बताए ।