अबको चार महिनामा थप एक लाख ४८ हजार संक्रमित थपिने-मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन्।
शनिबार कोरोना महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले अबको चार महिनामा १ लाख ४८ हजार कोरोना संक्रमित पुष्टि हुनसक्ने सरकारले अनुमान गरेको बताएका छन् । सुरूमा सरकारले नेपालको कुल जनसंख्याको दुई प्रतिशतमा पिसिआर परीक्षण गर्ने नीति लिएको थियो । तर संक्रमणदर वृद्धि हुदै गर्दा सरकारले अहिले सम्म १६ लाख पिसिआर परीक्षण गरिसकेको छ ।
सिमित स्रोत र साधनको यथार्थभित्र रहेरपनि अधिकतम काम आफुहरुले गरेको समेत उनले दाबी गरे । पछिल्लो समय कोरोना संक्रमण र यसको उपचार बारे नागरीकको बुझाइका कारण काम गर्न सहज नभएको बताए । कुल सक्रिय संक्रमितहरूमध्ये ८० प्रतिशत होम आइसोलेसनमा बस्नुले नै नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने उनले बताए ।
सरकारले अस्पतालहरूमा अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधीको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको छ । यस्तै, विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरूलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यान केन्द्रित गरी काम गरिरहेको मन्त्री ढकालले बताए।