ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उदाउँदै गरेको सुर्यलाई अर्घ दिएसँगै छठ पर्व सकियो

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

विरगंज । उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै चारदिने छठ पर्व सकिएको छ । शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमधेसवासीको महान चाड छठको उल्लास सकिएको छ ।
कोरोना महामारीका कारण विगतको वर्षहरुमा भन्दा केही फरक ढंगले छठ मनाइएको छ । वीरगञ्जका छठघाटहरु विशेष किसिमले सजाइएका छैनन् । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पार्ने गरिएको थियो ।
छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यसवर्ष घरको छत र आँगनमै पर्व मनाएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो । विशेषगरी सहर बजारका धेरै ब्रतालुहरुले घरको छतमै कृत्रिम पोखरी बनाएर पूजा अर्चना गरेका छन्।

नदी, खोला र पोखरीस्थित छठघाटमा ब्रतालुहरु र दर्शनार्थीहरुको भिड विगतको वर्षमा भन्दा कम देखिएको छ । कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ ।

कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइधुवाइ गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना एक छाक खाने गर्छन् । छठको दोश्रो दिन अर्थात कात्तिक पञ्चमी तिथिको दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुल्हो बनाएर त्यसैमा चामल र भेलीको खीर, रसीआव तथा गहुँको रोटी प्रसादका रुपमा पकाइन्छ ।

प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरुले प्रसाद स्वरुप खाएर निर्जला ब्रत बस्छन् । पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गरिन्छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ दिएपछि पर्व सम्पन्न हुन्छ ।
छठ शुरु भएकोबारे विभिन्न किम्बदन्तीहरु भेटिन्छन् । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । त्यसबखत उनीहरु पाण्डव विराट राजाको दरबारमा कामदारका रुपमा थिए । त्यहीबेलादेखि छठ मनाउने परम्पराको थालनी भएको बताइन्छ ।

अर्कोतर्फ सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठको व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि अटल सौभाग्य, परिवारको सुख शान्ति र पति प्रेमका लागि छठ पर्व मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *