ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधान समुहले सम्पन्न गर्यो जिल्ला दौड, नतिजा निस्कनेमा विस्वत

नेपालगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान समूहले आफ्नो चुनावी अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ । ३५ वटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको यो भेलालाई प्रधान समूहले आफ्नो अन्तिम भेला भनेको छ ।
महासंघको आगामी अध्यक्ष शेखेर गोल्छाले समेत आफ्नो समूह भन्ने गरेको प्रधान प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति उम्मेद्वार छन् ।


कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले हुनेवाला अध्यक्षले चाहेको समूहलाई निर्वाचन जिताउनुपर्ने बताए । उनले आगामी अध्यक्ष शेखर गोल्छालाई काम गर्न दिन्न भनेर पूर्व अध्यक्ष चण्डीराज ढकालले विधान विपरितको बोली बोलेको आरोप लगाए । निवर्तमान अध्यक्षका हैसियतमा आफू महासंघको हरेक बैठकमा पुगेपनि डेढ वर्षसम्म कुनै कुरा नबोलि फर्किएको भएपनि जब विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बन्नबाट रोक्ने बहस सुरु भयो त्यसपछि आफू सक्रिय भएको उनको भनाई छ ।


‘शेखर गोल्छाले के अपराध गरेका छन् र हटाउँछु भनेर धम्की दिईन्छ ?’ मुरारकाले भने, ‘पहिला वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष बन्ने विधान अनुसार मतदान गरेर जिताएका मतदाताको अपमान हुने गरी अहिले अध्यक्षका रुपमा काम गर्न दिन्न भनेर धम्क्याउने काम राम्रो होइन ।’
गोल्छाले किशोर प्रधानको समूहलाई आफ्नो समूह भनेकै कारण अध्यक्षले चाहेको समूहलाई निर्वाचनमा विजयी गराउनुपर्ने मुरारकाको भनाई छ ।
त्यस्तै महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीले महासंघको आगामी नेतृत्व सम्हाल्ने तयारीमा रहेको गोल्छा आफ्नो ‘भिजन पेपर’ बनाउने अभियानमा रहेको जानकारी गराएका छन् । उनले सो भिजन पेपरलाई कार्यसमिति, प्रदेश समिति, जिल्ला समिति र हरेक नगर समितिसहित पूर्व अध्यक्षहरुलाई पनि देखाएर पारित गराउने र देशैभरका उद्योगी व्यवसायीका एजेण्डा एउटै बनाउने अभियानमा गोल्छा लागेका कारण आफूले उनले चाहेको समूहलाई सहयोग गरेको बताएका छन् ।
उनले सहमतिमा नै नेतृत्व चयन हुनुपर्ने भएपनि चन्द्र ढकालले ‘मेरो गोरुको बाह्रै टक्का’ गरेका कारण सहमतिको वातावरण भाँडिएको पनि बताए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षका उम्मेद्वारका किशोर प्रधानले आफूले करदाता र रोजगारदाताको सम्मानका लागि लड्ने बताएका छन् । करदातालाई वडा सदस्यभन्दा तल्लो वरियतामा राखिनु दुःखद भएको भन्दै प्रधानले जिल्ला महासंघको अध्यक्षलाई राज्यमन्त्री सरह र जिल्ला अध्यक्षलाई सांसद पछिको वरियता दिलाउन आफूले लविङ गर्ने बताए ।
आसन्न निर्वाचनमा जिल्ला नगर उपाध्यक्षका उम्मेद्वार दिनेश श्रेष्ठले उद्योगी र व्यवसायीहरु बैंकबाट ठगिने गरेको गुनासो गरेका छन् । बैंकहरु विगतका जमिनदार जस्तो भएको भन्दै उनले व्यवसायी र उद्योगीहरुलाई पीडा दिने बैंकहरुविरुद्द लड्ने प्रण गरेका छन् ।
‘कर, भ्याटका समस्या जहाँको त्यही छन्, बैंकहरु नाफामुखी मात्रै भएका छन्’ उनले भने, ‘जमिनदार जस्ता बैंकहरु विरुद्द लडेर व्यवसायीको हितमा काम गर्ने र हरेक जिल्लाका साथीहरुको गुनासो २४ घण्टाभित्र सम्बोधन गर्ने कामलाई मैले पहिलो प्राथमिकतामा राखेको छु ।’

आगामी मंसिर ११, १२ र १३ गते महासंघको ५४ औँ साधारणसभा हुँदैछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *