ढकाल प्यानलको विजयी यात्रा सुरु, दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन । ढकाल समूहका उम्मेदवारहरु प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फ द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन । यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका राउत हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्ष समेत हुन । विराटनगर निवासी उनको जितलाई ढकाल समूहले एक महत्वपूर्ण बिजयको रुपमा लिएको छ । किनभने मोरङ जिल्ला वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको गृह जिल्ला हो ।

आज पाँच बजेसम्म पनि कसैको उम्मेदवारी नपरेपछि १ नं प्रदेशबाट राउत निर्विरोध भएका हुन । त्यस्तै, अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल ईन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष हुन । अग्रवालले एशोसिएटतर्फबाट द्विराष्ट्रिय च्याम्बर अन्तर्गत निर्विरोध भएका छन् ।

उपाध्यक्षका उम्मेदवार ढकाल हालैमात्र निर्वाचन प्रचारका क्रममा १ नं प्रदेशको भेडेटारमा गएका थिए । त्यस क्रममा ५२ जिल्ला नगर अध्यक्ष सहित एक सयभन्दा बढी उद्योगी व्यवसायी त्यहाँ पुगेका थिए । त्यस क्रममा उनीहरुले ढकाललाई समर्थन गर्ने बताएका थिए । यहीं मंसिर ११-१३ मा काठमाडौंमा आयोजना हुने महासंघको ५४औ वार्षिक साधारणसभा तथा निर्वाचनमा वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्।