सिजनमै राजश्व संकलनले लक्ष्य भेटेन, राजश्वको ग्राफ्स ओरालो

काठमाडौं । ठूलो परिमाणमा व्यापार हुने चाडपर्वको बेलामै बजार सुस्त हुँदा त्यसको असर राजस्व संकलनमा परेको छ । चालु वर्षको ४ महिना सकिदा पनि आन्तरिक राजस्व संकलनको अवस्थामा निराशा जनक रहेको छ । आर्थिक बर्षको पहिलो ४ महिना सामान्यतया २० देखि २५ प्रतिशत वृद्धि हुनुपर्ने राजस्व संकलन २ प्रतिशतको मात्रै वृद्धि भएको छ
सरकारको मुख्य राजस्व संकलन गर्ने निकाय आन्तरिक राजस्व विभागले ४ महिनामा १ खर्ब ११ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर हालसम्म लक्ष्यभन्दा ५ अर्ब कम राजस्व संकलन भएको छ । ४ महिनामा आन्तरिक राजस्व विभागले १ खर्ब ६ अर्ब राजस्व संकलन गरेको हो ।
विभागले साउन र भदौ महिनामा लक्ष्य बराबरको राजस्व संकलन गरे पनि असोज र कात्तिक महिनामा क्रमशः राजस्व संकलन ग्राफ ओरालो लाग्दै गएको छ । विभागले कात्तिक महिनाको लक्ष्य पनि भेटेको छैन । यो महिना विभागले २८ अर्ब ६५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २६ अर्ब २८ करोड मात्रै राजस्व संकलन गरेको छ ।
यस्तै अन्तःशुल्क संकलनमा पनि निरन्तर गिरावट आइरहेको छ । यो महिना ७ अर्ब ९६ करोड अन्तः शुल्क संकलन गर्ने लक्ष्य लिएकोमा ६ अर्ब ४८ करोड मात्रै उठाउन सकेको छ । होटल, रेष्टुरेन्ट नियमित रूपमा खुला नहुँदा मदिरा व्यवसायमा गिरावट आएको हो । अन्तःशुल्क धेरै संकलन हुने असोज र कात्तिक महिनामा समेत अन्तःशुल्क संकलनको लक्ष्य पुग्न सकेन ।
यसैगरी आयकर संकलनमा पनि लक्ष्य भेटिएको छैन । यो महिना ११ अर्ब ६४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको १० अर्ब ४२ करोड राजस्व संकलन भएको छ ।