बैतडीको खोड्पेका बस दुर्घटना नौ जनाको मृत्यु

बैतडी, बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा भएको बस दुर्घटना परि मृत्युहुनेको संख्या नौ पुगेको छ । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या बढेको हो।
प्रहरीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर तर्फ जाँदैगरेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस खोड्पेमा बिहीबार राति साढे १० बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो ।
एसएसपी मुकेशकुमार सिंहका अनुसार मृतकहरुमध्ये एक जना प्रहरी जवान रणबहादुर चन्दको सनाखत भएको छ । बैतडी घर भएका उनी दाङको हापुरे इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उनको परिचयपत्रको आधारमा पहिचान खुलेको एसएसपी सिंहले बताए ।
दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको एसएसपी सिंहले जानकारी दिए । उनीहरुलाई धनगढी रिफर गर्ने तयारी भइरहेको छ ।
‘बस सडकभन्दा झण्डै ६ सय मिटर तल खसेको प्रहरीले जनाएका छन् । मृतक र घाइतेको पहिचान भइससकेको छैन । साथै दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको छ ।