ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मानार्थ महारथी नरवणे नेपाल -भारत संवादमा बन्लान त सेतु ?

राष्ट्रपति तथा नेपाली सेनाकी परमाधिपति  विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी छन्। नेपाल र भारतबीच एक-अर्का सेना प्रमुखलाई मानार्थ महारथी दिने चलन अनुसार नरवाणेलाई मानार्थ महाराथीको पदवी दिइएको हो ।  गत जनवरीमा प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले  भारतीय स्थल सेनाको महारथीको पदवी दिएका थिए । 

जंगी अड्डाको अभिलेख अनुसार नेपाल र भारतबीच मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन जुद्धशमशेरको पालाबाट सुरु भएको थियो ।  २४ अक्टोबर १९४५ मा भारतका सेनाध्यक्ष सर क्लाउडेलाई पहिलो पटक मानार्थ जर्नेलको दर्जा दिएको पाइन्छ । तर नेपालबाट भने १९६९ मा प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी चिन्ह पाएको देखिन्छ । त्यस बेलादेखि यो परम्परा जस्तै रुपमा चल्दै आएको छ ।

खासगरी दुवै देशका सेनावीच सम्वन्ध राम्रो बनाउन र दुवै मुलुकको हितमा अगाडी बढ्ने उद्देश्यले मानार्थ महारथी दिन सुरु गरिएको थियो । तर भारतबाट नरवाणे सहित १८ जना सेनाध्यक्षले मानार्थको दर्जा पाएपनि नेपालका पूर्णचन्द्र थापा सहित १४ जना प्रधान सेनापतिले मात्रै मानार्थ महारथीको दर्ज्यानी पाएका छन् ।

तर २०४५ सालमा भारतले नाकाबन्दी लगाएको समयमा नेपालका प्रधानसेनापति सचित्त शमशेर जबरा भारतमा गएनन् । त्यस्तै तत्कालीन भारतका सेनाध्यक्ष जनरल जोगिन्दर जसवन्त सिंहलाइ समेत मानार्थ दिनका लागि नेपालले निमन्त्रणा नदिएको इतिहास छ । बेला बेलामा नेपाल र भारतबीच हुने सीमा विवाद र नाकाबन्दीको कारण दुवै देशका प्रधान सेनापतिलाइ मानार्थ महारथीको दर्ज्यानी लिने दिने विषयलाइ रोक्नुपर्ने आवाज पनि उठ्दै आएपनि खासै अर्थ राख्न सकेको छैन ।

दुई देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी प्रदान गर्ने चलन रहेपनि यो पटकको नरवानेको नेपाल भ्रमणलाई विशेष महत्वकासाथ हेरिएको छ । नेपालले आफ्नो अतिक्रमित भूमि लीपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्सा जारी गरेसंगै नेपाल भारतविच संवाद हिनता कायम भएको बेला भएको नरवाणेको भ्रमणलाई संवादको सुरुवातको रुपमा हेरिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *