लाचार सरकारलाई सर्वोच्चको ताकेता

सर्वोच्च अदालतले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारलाई पुनस् आदेश दिएको छ । यससम्बन्धी अघिल्लो आदेश पुनरावलोकनको माग गरी सरकारले दिएको आवेदन खारेज गर्दै सर्वोच्चका न्यायाधीशत्रय हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले यस्तो आदेश दिएको हो ।
कोरोना परीक्षण र उपचार निःशुल्क हुनुपर्ने मागसहित दायर रिटमा सर्वोच्च अदालतले असोज १५ गते परीक्षण र उपचार निःशुल्क गर्न सरकारको नाममा परमादेश दिएपनि सरकारले अवहेलना गर्दै शुल्क तोकेर आदेश पुनरावलोकनको माग गरेको थियो ।
सर्वोच्चले संविधानको धारा ३५ मा स्वास्थ्यको हकलाई मौलिक हकभित्र परिभाषित गरेको बताउँदै कोभिडको उपचार निःशुल्क गर्न भनेको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत भएको भन्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत कात्तिक १७ गते उक्त परमादेश पुनरावलोकनको निवेदन दिएको थियो ।
सर्वोच्चले सरकारको पुनरावलोकन निवेदन खारेज भएसँगै अब सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने भएको छ । सर्वोच्चले स्वास्थ्य मन्त्रीसँग कोरोना संक्रमण र परीक्षण निशुल्क गर्न दिएको आदेश कार्यान्वयन नगर्नुको कारणसमेत माग गरेको छ ।
कोरोना परीक्षण र उपचार निशुल्क गर्न गत असोज १५ गते दिएको सर्वोच्चको परमादेश कार्यान्वयन नगरेको भन्दै अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले दिएको अवहेलनाको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारलाई ७ दिनभित्र कारण पेश गर्न आदेश दिएको हो ।
सर्वोच्चले अदालतको अवहेलनामा कारबाही र सजाय किन हुनु नपर्ने हो सजाय हुन नपर्ने कुनै आधार र कारण भए सबै व्यहोरा खुलाई ७ दिनभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ ।
तेस्तै नेपालमा कोरोना संक्रमितको सङ्ख्या समेत बढ्न थालेको छ । परिक्षणको दायरा कम भएपनि संक्रमितको सङ्ख्या बढ्न थालेको हो । पछील्लो चौबिस घण्टामा ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ६८ नमुना परीक्षणमा उपत्यकामा १ हजार ३ सय ९८ जना सहित देशभर ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै देशभर संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ९४ पुगेको छ । त्यस्तै कोरोनाका कारण चौबिस घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन्। यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको छ।
गत चौबिस घण्टामा ३ हजार ४ सय ३० जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ । यो संक्रमितको ७१ दशमलव ६ प्रतिशत हो । मन्त्रालयका अनुसार हाल देशभर क्वारेन्टिनमा १ हजार २ सय ३२ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ३६ हजार ५ सय १४ रहेको छ। देशभर आसियुमा उपचारत ४ सय २८ जना र भेन्टिलेटरमा ७४ जना रहेका छन्।