कोरोना विमाको भुक्तानी दाबी एक हप्ताभित्र भुक्तानी दिन अर्थको निर्देशन

बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय भएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा मंगलवार बसेको बैठकले सो कार्यको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय समेत भएको छ ।
अर्थमन्त्री पौडेलले बिमितहरुले बिमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
यस्तै कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय भएको छ।
बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति रहेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।