अमेरिकामा राष्ट्रपतिको चुनाव २०२० : मतदाताको चहलपहल

अमेरिकी मतदाताहरू दशकौँमा देखिएको एउटा निकै तिक्ततापूर्ण र अभूतपूर्व चुनावी अभियानपछि आज आफ्ना राष्ट्रपति छनौटका लागि मतदान गर्दैछन्। चुनावमा यसअघि नै नौ करोड ९० लाख मतदाताले अग्रिम मतदानको प्रावधान अनुसार आफ्नो मत दिइसकेका छन्।
यो चुनाव त्यस्तो बेला भइरहेको छ जसको एक साताअघि मात्र अमेरिकामा एउटा निकै खराब हप्ताको रूपमा कोरोनाभाइरसबाट दैनिक एक हजारभन्दा बढीले ज्यान गुमाइरहेका थिए।
महामारीका बीच अहिलेसम्मकै उच्च पाइएको अग्रिम मतदानबीच अमेरिकामा एक शताब्दीभन्दा बढी समयपछि सबैभन्दा धेरै मत खस्ने आकलन भइरहेको छ । ठूलो सङ्ख्या हुलाकबाट मत खसेकाले यो वर्ष सुरुमै कसले अग्रता लिएको छ भन्न गाह्रो हुने देखिन्छ।
थप चार वर्ष अमेरिकाको नेतृत्व गर्न खोजिरहेका डोनल्ड ट्रम्पले यदि चुनाव हारेमा उनी सन् १९९२ मा जर्ज एचडब्ल्यू बुश पछिको पुनर्निर्वाचन हार्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नेछन्।राष्ट्रव्यापी जनमत सर्वेक्षणहरूले डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले उल्लेख्य अन्तरले अग्रता लिएको देखाउँछ।तर उक्त प्रतिस्पर्धामा राष्ट्रपति निर्वाचित हुनका लागि केही मुख्य अमेरिकी राज्यहरूमा चुनाव जित्नु आवश्यक मानिन्छ।
भर्जिनियाको एउटा मतदान केन्द्रमा रहेकी बीबीसीकी लेबो डिसेको भन्छिन्-जो बाइडनले कोरोनाभाइरस महामारीका कारण देशमा अग्रिम मतदान हुनुपर्छ भन्नेमा जोड दिएका थिए जुन कुरा डोनल्ड ट्रम्पले रूचाएका थिएनन्। परम्परागत रूपमा अग्रिम मतदानले डेमोक्र्याटहरूलाई साथ दिने देखिएकाले ट्रम्पले आफ्ना समर्थकलाई आजै भोट हाल्न भनिरहेका छन्।
ट्रम्पले बिना कुनै आधार उच्च सङ्ख्यामा हुने हुलाकमार्फत् हुने मतदानले धाँधलीको अवस्था सिर्जना गर्ने आरोप लगाउँदै आएका छन्।विभिन्न राज्यमा हुलाकबाट गरिएका मतगणना गर्ने आआफ्ना नियम छन्।
फ्लोरिडा र एरिजोनाजस्ता राज्यले नोभेम्बर ३ तारिखअघि नै मतपत्र गणनाको प्रक्रिया अघि बढाए पनि विस्कन्सिन र पेन्सल्भेनियाले मतदानको दिनभन्दा अघि ती मतपत्र छुँदा पनि छुँदैनन्। त्यसैले चुनावी रातमै केही राज्यमा मतदान सकिनेछैन।पछिल्ला तीन दिनमा १४ वटा चुनावी र्याली गरेका ट्रम्पले आजको चुनावी दिन ह्वाइटहाउसमै बिताउनेछन्।
बाइडन भने मतदाता जता पनि ढल्कन सक्ने स्विङ्ग स्टेट भनिने एउटा महत्त्वपूर्ण राज्य पेन्सलभेनियामा बसेर अनिर्णित मतदातालाई ढाडस दिने योजनामा छन्।
बीबीसीवाट साभार गरिएको सामाग्री