ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कांग्रेस पदाधिकारी बैठक आज, पौडेलपक्षका असहमतिमा छलफल हुने

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले राखेका असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक राखेका छन्।पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बस्ने अनौपचारिक बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाइएको छ।सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६ बुँदामा असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए।उक्त विषयमाथि छलफल गर्न देउवाले बैठक डाकेका हुन् ।

देउवाले महाधिवेशन प्रभावित पार्न विभागलगायतमा मनोनयन जारी राखेकोमा पौडेल पक्षका नेताले असन्तुष्टि राख्दै आएका छन्। ४७ विभागमध्ये देउवाले २० बढीमा संयोजकसहित सदस्यमा एकलौटी मनोनित गरेका थिए। कांग्रेसमा अर्को विवादको विषय क्रियाशील सदस्यताको हो। देउवाले आफूखुसी क्रियाशील सदस्यता बाँडेको आरोप पौडेल पक्षको छ।

पार्टी उपसभापति विजयकुमार गच्छदारलगायत पार्टीमा मिल्न आएका नेतालाई क्रियाशील सदस्यता छलफलविना नै यतिउति भनेर तोकेर दिएकोमा पौडेल पक्ष असन्तुष्ट छ। १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने भने पनि अहिलेसम्म क्रियाशील सदस्यता टुंगो लागेको छैन। क्रियाशील र समायोजनका कतिपय काम नटुंग्याएर देउवाले महाधिवेशन मिति धकेल्न खोजेको आरोप पनि छ।कोरोना महामारीको कारणले क्रियाशील वितरण प्रभावित बनेको भन्दै कांग्रेस नेतृत्वले महाधिवेशन फागुनमा गर्न नसक्ने बताउने गरेको छ।अब कांग्रेसले फागुनबाट महाधिवेशन धकेल्न देउवाकै कार्यकाल बढाउनु पर्ने हुन्छ। त्यसका लागि कांग्रेसले संविधानको व्यवस्थाअनुसार छ महिना देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्न सक्छ।

देउवाको चार वर्षे नियमित कार्यकाल गत वर्ष फागुनमै सकिएको थियो। तर कांग्रेस विधानअनुसार देउवाले केन्द्रीय समितिबाट निर्णय गर्दै फागुन १९ गतेसम्म आफ्नो कार्यकाल थपेका थिए । कांग्रेसले महाधिवेशनबारे छलफल गर्न कात्तिक २१ मा केन्द्रीय समिति बैठक राखेको छ। बैठकअघि नै शीर्ष नेताबीच सहमति खोज्न आज पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *