बडादशैं अन्तर्गत नवरात्रको आज पाँचौ दिन स्कन्दमाताका रुपमा दुर्गाको पुजा

बडादशैं अन्तर्गत नवरात्रको आज पाँचौ दिन । पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा स्कंदमातालाई शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको शास्त्रिय मान्यता छ । कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ ।
स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरहको फल प्राप्त हुने विश्वास छ । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएको छ । स्कन्दमातास्वरूपिणी देवीका चार हातहरू छन् । सिंह यिनको वाहन हो ।
यीनको उपासनाले भक्तको सबै ईन्छा पुरा भई मोक्ष प्राप्ती हुन्छ भने मनलाई एकाग्र एवं पबित्र राखी देवीको आराधना गर्ने भक्तलाई भवसागर पार गर्दापनि कठिनाई आउदैन भनि शाष्त्रमा उल्लेख गरेको पाइन्छ ।
त्यसैले मन, वचन, कर्मले विधिविधानपूर्वक शुद्ध भई मन्दिर र शक्तिपीठहरुमा स्कन्दमाता देवीको दर्शन गर्नुपर्दछ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा समेत रहीआएको छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दूर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुती पाठ गरिन्छ दुर्गाका यी नौ रुपलाई नवदुर्गा पुजा गरीन्छ ।