गुणस्तरिय स्वास्थ्य सेवाका लागि शुल्क लिने व्यवस्था भएको हो – स्वास्थ्य मन्त्री

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र माग अनुसार कोभिड-१९ का संक्रमितको उपचार गरेवापत शुल्क लिने निर्णय भएको बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा भिडियो सन्देश दिदै मन्त्री ढकालले आफ्नै खर्चमा कोभिडको उपचार गर्न चाहनेहरूका लागि सशुल्क उपचारको व्यवस्था गरिएको बताएका छन् ।
‘निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्ने व्यक्तिहरुका लागि सशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यो कदम चालिएको हो,’ भिडियो सन्देशमा मन्त्री ढकालले भनेका छन्, ‘आफ्नै खर्चबाट परीक्षण तथा उपचार गर्न सक्ने र चाहने व्यक्तिका लागि सशुल्क सेवा प्राप्त गर्ने सहज अवसर उपलब्ध गराइएको छ ।’
सरकारले कार्तिक २ गतेबाट लागू हुनेगरि आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । अरुले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्ने निर्णय भएको थियो ।