आजबाट सार्वजनिक यातायातमा पुरानै भाडा कायम

यातायात व्यवस्था विभागले आज अर्थात कार्तिक १ गतेबाट पूरानै भाडा लागु गरेको छ । यातायता व्यवस्था विभागले शुक्रबार नै एक गतेबाट पुरानै भाडादर कायम गर्न निर्देशन दिएको थियो ।
यस अघि कोरोना संक्रमण बढ्ने भन्दै ६ महिना लामो लकडाउनपछि खुल्ला भएका सार्वजनीक यातायातमा आधामात्र यात्रु राख्न पाउने(एक सिटमा एकजना) व्यवस्था गर्दै ५० प्रतिशत भाडा बढि लिन पाउने ब्यवस्था गरेको थियो ।
सरकारले गत भदौ २९ गतेको मन्त्रिपरिषदको निर्णयमार्फत असोज १ गतेदेखि लागू हुने गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न र साविकको भाडादरमा थप ५० प्रतिशत भाडा लिन भनेको थियो । पुन: गत २६ गते बसेको मन्त्रिपरिषदको बैठकले ५० प्रतिशत कम यात्रु र ५० प्रतिशत थप भाडाको दुबै प्रावधान खारेज गरेपछि विभागले पुरानै भाडा दरमात्र उठाउन निर्देशन दिएको हो ।